रेडियो गौशाला , ७९३ पटक हेरिएको
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य चुनावमा मतदान गर्नुभएको छ । उहाँले आज बिहान काठमाण्डौको महाङ्काल चौरमा रहेकाे उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गर्नुभएको हो ।
सभापति लामिछानेले प्रदेश सभा सदस्यमा भने मत खसाल्नु भएन । अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म प्रदेश सभाकाे मतदानमा आफू सहभागी नहुने उहाँले बताउनु भयाे । अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको उहाँले बताउनु भएकाे छ ।
चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहनुभएका लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैँलाई मत हाल्न पाउनुभएन ।
उहाँले भन्नुभयो, ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा होइन, गरेका पनि छैनौँ तर संरचना सुधारौँ । हामीले सोचेजस्तो देश र नागरिकको हितमा भए मात्रै हामी सहभागी हुन्छौँ ।’
प्रकाशित मिति: २०२२-११-२० , समय : ०९:२९:४५ , २ वर्ष अगाडि