सहिदको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : मुख्यमन्त्री सिंह

रेडियो गौशाला , ४९३  पटक हेरिएको

आन्दोलनको क्रममा बलिदानी दिएका सहिदका कारण प्राप्त भएका उपलब्धिको सबैले रक्षा गरेर अघि बढनुपर्ने बताका छन् ।

सातौं बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय मातहतका मधेश सहिद प्रतिष्ठानले शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले देशमा संघीयतामा गएपनि धेरै जसो अधिकार प्राप्त नभएकै कारण प्रदेश सरकारले चाहेर पनि सहिद परिवारका लागि गर्नसक्ने धेरै जसो काम गर्न नसकेको स्वीकार गरे । उनले सहिद प्रतिष्ठानको कामकाजबाट आफू पनि सन्तुष्ट नरहेको भन्दै मधेश सहिद प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउने उल्लेख गरे । उनले प्रदेश सरकारले सहिद परिवारको समुचित व्यवस्थापनका लागि एउटा रोड म्याप बनाएर कामकाज गर्न खोजेको भन्दै त्यसमा सहयोगका लागि आग्रह गरे ।

कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशमा परिवर्तनपछि मधेशी नै शासक हुँदा पनि जनताले अनुभूति गर्न नसकेको भन्दै जनतालाई परिवर्तनको आभाष हुने किसिमले कामकाज गर्नका लागि प्रदेश सरकारसँग आग्रह गरे । उनले समाजमा व्याप्त रुपमा विकृति देखिन थालेको भन्दै समाजमा देखिएका विकृतिको अन्त्य भएमा मात्रै बलिदानी दिवसको सार्थकता हुने बताए ।

मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले सहिद परिवारको लागि संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनका लागि आग्रह गरे। कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सहिद परिवारको व्यवस्थापनको लागि प्रदेश सरकारले नीतिगत रुपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए।

गृह मन्त्री लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा तिवारी, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, विभिन्न दलका प्रदेशसभा सदस्य, मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतोले धारणा राखी। कार्यक्रममा सहिद परिवार र घाइतेलाई मुख्यमन्त्री सतिशकुमार सिंहले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति: २०२५-०१-१९ , समय : ०६:२८:१७ , २ हप्ता अगाडि