महोत्तरी सहीत मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर

रेडियो गौशाला , ७०४  पटक हेरिएको

गोपाल झा, महोत्तरी। महोत्तरी सहीत तराई–मधेशमा एक सातादेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ ।

एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहरसमेत बढेकाले महोत्तरी सहीत तराई–मधेशका जिल्लामा जाडो बढेको हो । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै घरपालुवा जनावरलाई पनि असर पारेका कारण कष्टकर देखिएको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छाडेपछि महोत्तरीमा चिसो बढेको हो ।

करीब एक सातादेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित भएका छन् ।

चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समेत समस्या हुन थालेको छ।

यता बाक्लो कुहिरो लागेका कारणले पूर्व–पश्चिम राजमार्ग र सहायक मार्गका सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको चालक बताउँछन् ।

दिउँसोको समयमा अलिअलि घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो हुने गरेको छ । चिसोले गर्दा मानिस बिरामी पर्न थालेका छन् ।

प्रादेशीक अस्पताल जलेश्वरका प्रमुख प्रभात गामीले चिसोबाट बालबालिका र वृद्धवृद्धामा निमोनिया तथा श्वासप्रश्वासका समस्या बढी देखएिको छ ।

उनले जाडोबाट बढी मात्रामा दमका रोगी, वृद्धवृद्धा र बालबालिकालाई सताउने गरेको जनाउँदै अहिले अस्पतालमा त्यस्ता बिरामीको चाप रहेको बताए । उनले भने, मौसममा सुधार भएन भने चिसोसँगै बिरामीको चाप बढनसक्छ ।”

त्यस्तै स्थानिय प्रशासनले चिसोबाट बच्न आगो ताप्दा सावधानी अपनाउन आग्रह गरेको छ । आगोबाट ठूलो क्षतिसमेत हुनसक्ने भएकाले सबैलाई सचेत रहनसमेत आग्रह गरिएको छ । बाक्लो हुस्सु लागेका बेला सवारी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी महोत्तरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: २०२५-०१-१८ , समय : १९:३५:०७ , ३ हप्ता अगाडि