‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत १६ हजार छोरीको बिमा

रेडियो गौशाला , ६५९  पटक हेरिएको

जनकपुरधाम- मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बिमा गरेको छ ।

मधेस प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत महिला सशक्तीकरण तथा सामाजिक सुदृढीकरणको लोकप्रिय कार्यक्रमअन्तर्गत सो बिमा गरिएको हो । मधेस प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार सो बिमाबापत रु ५९ करोड ७५ लाख खर्च भएको छ ।

आर्थिक, शैक्षिक तथा सामाजिक रुपमा पछाडि परेका छोरीहरुको उत्थान तथा महिला सशक्तीकरणका लागि बिमा गरिएको निर्देशनालयका सूचना अधिकारी किशोरी कापरले जानकारी दिनुभयो ।

उक्त अभियानअन्तर्गत साइकल वितरण, छोरी शिक्षा बिमा, छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा, सेनेटरी प्याड वितरण तथा छात्रवृत्तिको व्यवस्था गरिएको थियो । तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु भएको सो अभियानअन्तर्गत छोेरी शिक्षा कार्यक्रम मात्र सञ्चालन भइरहेको छ भने अन्य कार्यक्रम प्रभावकारी नभएको गुनासो छ ।

यसैगरी छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत २०७८ साल माघ १ गतेपछि जन्मिएका प्रत्येक बालबालिकाको २० वर्षका लागि रु ३७ हजार चार सय ५७ ग्लोबल आईएमई बैंकमा मुद्दति खातामा बिमा गर्ने व्यवस्था गरिएको छ । बीमित किशोरीले २० वर्षपछि रु तीनलाख पाउने छन् ।

तर त्यसका लागि बीमित छोरीले कक्षा १२ सम्म अध्ययन गर्नुपर्ने प्रावधान राखिएको छ । विवाह २० वर्ष अगाडि गरेमा उक्त बीमा प्राप्त गर्न नसक्ने जानकारी दिइएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालनमा रहेको सो कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि २०७८ सालदेखि शिक्षा विकास निर्देशनालयले सञ्चालन गर्दै आएको छ । साइकल वितरणमा अनियमितता भएपछि अहिले साइकल वितरण पनि रोकिएको छ ।

प्रकाशित मिति: २०२४-११-३० , समय : ११:५३:०२ , ३ हप्ता अगाडि