रेडियो गौशाला , १४६५ पटक हेरिएको
सिरहा – सिराहाको सिराहा नगरपालिका– ७ महिसोथाबाट प्रहरीले बिलविजकविनाको साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यको सुनचाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पाँचथर जिल्लाको आरुबोटे गाउँपालिका– ५ बाँझघरा घर भई झापाको दमकमा डेरा गरी बस्दै आएका करिब २८ वर्षीय रोशन बराइलीलाई सुनचाँदीका तयारी गहनासहित पक्राउ गरिएको हो।
बराइलीको साथमा रहेको कालो झोलामा दुई लाख १७ हजार ६८० रुपैयाँ ७९ पैसा मूल्यका चाँदीका तयारी गहना र तीन लाख ३५ हजार २२८ रुपैयाँ ४८ पैसा मूल्यका सुनका गहना बरामद गरिएको सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। उनका अनुसार प्र १–०१–०१४ प ४६२५ नम्बरको मोटरसाइकल चढेर पूर्व–पश्चिम लोकमार्गमा पर्ने चोहर्वातर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिलविजकविनाको गहनासहित पक्राउ गरेको हो।
शंका लागेर मोटरसाइकल रोकी उनले बोकेको झोला चेकजाँच गर्दा १८ थान हरियो पोते, रोतो पोते ३० थान, सेतो मोतीको माला पाँँच थान, ६ थान खुला चन्द्रमा, पोतेमा जडित आठ थान चक्र, एक थान मंगलसूत्रसहित २६.०५ ग्रामको सुनका गहना बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरीमा राखेर अनुसन्धान गरिएका उनको साथबाट चाँदीका ३४ थान बाला, ११ थान ब्रासलेट, २९ थान चुरा र एक थान रडसहित दुई किलो ६५२.४ ग्राम गहना बरामद भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२४-०८-२० , समय : १८:१४:३४ , ४ महिना अगाडि