रेडियो गौशाला , ६१५ पटक हेरिएको
काठमाडौँ : ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो । बीस वर्षीया बलात्कार पीडित सोनाली सिंह (निहारिका) ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परिक्षण गराउँदा म्याच भएको हो ।
विधि विज्ञान प्रयोगशाला काठमाडौँले कात्तिक १८ गते उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९ दशमलव९९९ प्रतिशत मिलेको रिपोर्ट आएको बलात्कार पीडित सिंहका वकिल रिङ्कु यादवले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला प्रहरी, सरकारी वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो । शिवराज साधारण तारिखमा छन् । उनको यही कात्तिक २५ गते तारेख छ । चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।
अभियोगपत्रमै जबरजस्ती करणीको कसुरमात्रै लिएर गएकाले यो मुद्दालाई अदालतले जबरजस्ती करणीको महलमा मात्रै राखेर विश्लेषण गरेको र आरोपितलाई जबरजस्ती करणीको कसुरबाट सफाइ दिएको थियो ।
पछि जिल्ला अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्दै उच्च अदालत जनकपुरमा पीडितले २०७८ फागुनमा उजुरी दिएकी थिइन् । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गत भदौ ८ गते दुवैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो । उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौँमा डिएनए परीक्षण भएको थियो ।
उच्च अदालतले लामो समय पेशी नतोकेको र डिएनए परीक्षणको आदेश नदिएको भन्दै पीडित सोनाली सिंह दुई पटक आमरण अनशनमा बसेकी थिइन् । अनसनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि ‘फास्ट ट्र्याक’मा मुद्दाको सुनुवाइ अघि बढाइएको हो ।
प्रकाशित मिति: २०२२-११-०५ , समय : ०७:१६:२५ , २ वर्ष अगाडि