उजुरी दिन गएका पीडितको मोटरसाइकल प्रहरी कार्यालयको गेटबाटै चोरी

रेडियो गौशाला , १२६३  पटक हेरिएको

सप्तरी : प्रहरी कार्यालयमा कुटपिटको उजुरी लिएर पुगेका एकजना पीडितको जिल्ला प्रहरी कार्यालयको गेटबाटै मोटरसाइकल चोरी भएका छन् ।

सप्तरीको अग्निसाइर कष्णा सवरण गाउँपालिका–४ मा बुधवार बिहानै जग्गा विवादको विषयमा भएको कुटपिटमा दुईजना घाइते भएको र सोही विषयको उजुरी लिएर जाँदा सेतो नम्बर प्लेट को १ ब १०६९ सरकारी मोटरसाइकल चोरी भएको हो ।

बुधबार बिहान ९ बजेतिर आफ्नो बुवामाथि कुटपिट भएको उजुरी दिन जिल्ला प्रहरी कार्यालयको गेट अगाडि मोटसाइकल राखेर भित्र गएको र लिखित उजुरीपछि घाउ जाँचको चिठी लिएर १५ मिनेटपछि फर्किंदा मोटरसाइकल गायब भएको पीडित बरुण यादवले बताए ।

यसरी भयो घट्ना

अग्निसाइर कष्णा सवरण गाउँपालिका–४ मा जग्गा विवादको विषयमा भएको कुटपिटमा दुईजना घाइत भए । दाजुभाइबीच भइसकेको अंशबन्डामा चित्त नबुझेको भन्दै आफ्नै दाजुका तीनजना छोराहरूको कुटपिटबाट काका पर्ने स्थानीय ६५ वर्षीय सूर्यनारायण यादवको टाउको फुटेको छ।

नदी नियन्त्रण विराटनगरमा इन्जिनियर रहेका मनोज यादव र उनका थप तीन भाइ गरी चारजनाले पिडित बुवा र कान्छो भाइ अरूण यादवलाई ज्यान पार्ने उद्देश्यले कुटेको पीडित सूर्य नारायणको जेठा छोरा बरुण यादवले जानकारी दिए ।

इट्टा प्रहारले टाउको फुटेका सूर्यनारायण यादव र बुवालाई बचाउन गएका भाइलाई हिर्काउँदा उनको शरीरको विभिन्न भागमा चोट लागेर राजविराज स्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको पीडित सूर्यनारायणका जेठा छोरा बरुणको भनाइ छ ।

घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको ठाडो उजुरीका आधारमा प्रहरी कार्यालयले घाउ जाँचको चिठी काटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

सडक डिभिजन कार्यालय विराटनगरको मोटरसाइकल सोही कार्यालयका सब इन्जिनियर बरुण यादवले प्रयोग गर्दै आएका थिए ।

मोटरसाइकल एकछिनमै प्रहरी कार्यालयकै गेट अगाडिबाट हराउँदासमेत प्रहरीले कुनै चासो नदेखाएको बरुणले गुनासो पोखे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भने घटनाबारे आफूलाई कुनै प्रकारको जानकारी नभएको बताउँछन् ।

प्रकाशित मिति: २०२२-११-०३ , समय : ०८:२१:४४ , २ वर्ष अगाडि