रेडियो गौशाला , १००४ पटक हेरिएको
जनकपुरधाम – सिरहा प्रहरीले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना तयार गरेको छ। सुरु हुन लागेको नेपालीहरुको महान् पर्व विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आपराधिक समूहबाट चोरी, डकैती, लुटपात गर्ने प्रवृति तथा चाडपर्वको नाममा हुने उच्छृङ्खल गतिविधिलाई निरुत्साहित गर्ने उद्देश्यले जिल्लाभरि ९४४ जना प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्लामा शान्ति सु–व्यवस्थाको स्थिति मजबुत बनाउन चाडपर्व लक्षित सुरक्षा योजना–२०८० तयार गरी सोहीअनुरुप ५६७ जना बाह्रय सुरक्षामा र ३७७ जना रिजर्व टोली गरी ९४४ जना प्रहरी जनशक्ति खटाउने योजना रहेको प्रवक्ता डिएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
डिएसपी पाण्डेका अनुसार यस चाडपर्वको अवधिमा प्रहरीको चेकिङ्ग टोली, गस्ती खट्नेछ। महत्वपुर्ण प्रतिष्ठान, मुख्य लोकमार्ग, सहायक मार्ग, हुलाकी मार्ग, बैंक तथा वित्तिय संस्था, सुन चाँदी पसलहरुलगायत मुख्य मुख्य बजारहरुको सुरक्षाका लागि प्रहरी सो ठाउँमा ड्युटीमा रहने उनले बताए।
यस्तै, दशैं, तिहार र छठमा हुने अपराधिक घटना न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए।
यस्तै, सिरहा प्रहरीले चाडपर्वका लागि प्रहरी निरीक्षकको कमाण्डमा विशेष अधिकार प्रत्योजन गरी १० जना प्रहरी जनशक्तिको चाडपर्व लक्षित विशेष सुरक्षा कार्यदल गठन गरिएको छ।
प्रकाशित मिति: २०२३-१०-१२ , समय : २२:१५:४४ , १ वर्ष अगाडि