सकियो थुनछेक बहस: सन्दीपले भने- बलात्कार गरेको छैन, म निर्दोष छु

रेडियो गौशाला , १७२८  पटक हेरिएको

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज लामिछाने विरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो । अदालतले बयान लिने काम आज सकिएको र बुधबार थुनछेक बहस हुने जनाएको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०२२-११-०२ , समय : ०८:२५:२४ , २ वर्ष अगाडि