रेडियो गौशाला , १६१४ पटक हेरिएको
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ ।
मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३ र दफा १५ को कानुनी व्यवस्थालाई सेवाग्राही एवं सरोकारवाला सबैले देखिने गरी जानकारीमूलक सूचना पार्टी ‘फ्लेक्स बोर्ड’ बनाई अस्पताल परिसरमा राख्न निर्देशन दिएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल र नेपाल नर्सिङ एसोसिएसन लगायतका विभिन्न स्वास्थ्यका ट्रेड यूनियनहरुबीच मङ्गलबार छलफल भएको थियो ।
उक्त छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । छलफलबाटै अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालको कुनै कमजोरी भएको लागेमा उजुरी गर्ने निकाय र प्रक्रियाबारे जानकारी गराउने तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई नागरिक बडापत्रमार्फत टाँस गर्ने निर्णय गरिएको थियो ।
छलफलले देशभरका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही गर्ने निष्कर्ष निकालेको थियो ।
प्रकाशित मिति: २०२३-०९-२७ , समय : १३:५३:३१ , १ वर्ष अगाडि