रेडियो गौशाला , ६५० पटक हेरिएको

काठमाडौँ- गृह मन्त्रालयले गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।
गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका थिए । १७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको बीचमा भएको झडपमा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो ।
कारबाहीको लागि सरकारमाथि दबाब बढाएपछि साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच पाँच बुँदे सम्झौता भएको थियो । सोही सम्झौता कारबाहीको प्रक्रिया अगाडि बढाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

संघर्ष समिति र गृह मन्त्रालयबीच भएको सम्झौताअनुसार कार्यलाई अगाडि बढाउन आफुहरुको तर्फबाट पत्र पठाइसकेको उनले भने । त्यसको आधारमा अनुसन्धान तथा कार्यवाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।
घटनामा परी घाइते भएकालाई उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र आर्थिक सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय पत्र पठाउने काम भएको उनले बताए । घटनाको विषयमा त्यस समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएअनुसार गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।
यता, गौर घटनाका कारण जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारप्रति असन्तुष्टि जनाएका छन् । उनले उच्च स्तरीय छानबिन आयोगको माग गरेका छन् ।
प्रकाशित मिति: २०२३-०८-२७ , समय : २१:५७:४१ , २ वर्ष अगाडि