रेडियो गौशाला , २०५१४ पटक हेरिएको
बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १०ले बैंकको सहजीकरण गरी वडा कार्यालयबाटै मंगलबार देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ ।
गौशाला नगरपालिकाको नगरप्रमुख डा.दिपेन्द्र महतोले मंगलबार वडा नम्बर १० मा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो । लाभग्राहीको सुविधालाई ध्यानमा राखी नगरप्रमुख महतोले हितलाल मण्डललाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो ।
भत्ता पाएका मण्डलले भने – “सरकारले दिएको वृद्धाभत्ता बूढेसकालको सहरा बनेको छ । यही भत्ताले दैनिक जीवनयापन गर्दै आएकी छु तर भत्ता लिन जान निकै समस्या थियो । वडा कार्यालयले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ । अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित छु ।”
वृद्धवृद्धा तथा अशक्त नागरिकहरु लाई बैंकसम्म जान निकै समस्या भएपछि बैंकका कर्मचारी, वडाका कर्मचारी र नगरप्रहरीको सहयोगमा वडास्तरबाट सेवा दिन थालिएको गौशाला नगरपालिका वडा नम्बर १०को अध्यक्ष विष्णु कुमार महतो (मुकेश)ले बताए ।
यस्तै, मंगलबार १५० जना ज्येष्ठ नागरिक, एकल महिला र अशक्त नागरिकहरुलाई भत्ता वितरण गरेको छ भने बुधबार र बिहिबार समेत वडा कार्यालयबाटै बितरण हुने वडा सचिव भरत साहले बताए ।
प्रकाशित मिति: २०२३-०५-०२ , समय : २०:५६:३४ , २ वर्ष अगाडि