मिटरब्याजीविरुद्ध कडा कानूनको तयारीमा सरकार

रेडियो गौशाला , ९५२३  पटक हेरिएको

काठमाडौं। मिटरब्याजीबाट पीडितलाई न्याय दिन सरकारले नयाँ ऐन ल्याउने भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसबारेमा गृहकार्य भैरहेको बताएका छन्।

सामन्तवादको भद्दा अवसानको रूपमा मिटरव्याजीको समस्या रहेको र पीडितहरूलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको गृहमन्त्रीको भनाइ थियो।

उनले गाउँघरमा मिटरब्याजीबाट किसान, मजदुर पीडित रहेको र सहरमा अर्को रूपमा त्यसको समस्या रहेको बताउँदै त्यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए ।

गृहमन्त्रीले केही समय अघि आफू स्वयं सर्लाही जिल्लामा मिटर ब्याज पीडितका लागि आन्दोलनको नेतृत्व गर्न गएको भन्दै पीडितलाई लिएर मिडियाका सम्पादकको ढोकामा पुगेको र तत्कालीन गृहमन्त्री, प्रहरी प्रमुखलाई भेटेर केही पीडितलाई न्याय दिन सकेको स्मरण गरे।

उनले मिटर ब्याज पीडितलाई न्याय दिनका लागि कानुन संशोधनको प्रक्रिया छिट्टै संसदमा अघि बढ्ने जानकारी गराए । मिटरब्याजीलाई ठगीको अर्को रूपमा परिभाषित गर्न केही द्विविधा रहेकोले मिटर ब्याजको स्पष्ट व्याख्या गरेर कानुन बनाउन मन्त्रिपरिषद्ले विधेयक पारित गरिएको जानकारी गराए । उनले मिटर ब्याजलाई अनुचित लेनदेनको विषयको रूपमा परिभाषित गरिएको जानकारी गराए ।

विधेयकको प्रस्तावना बारे जानकारी दिँदै उनले भने ‘कसैले अनुचित लेनदेन गर्नु वा गराउनु हुँदैन, लेनदेनको क्रममा घरसारमा कसैले देहायको अनुचित कार्य गरे गराएमा अनुचित लेनदेन भनेर परिभाषित गरिएको छ। लेनदेन नभएको वा नगरेको रकम लिखत तयार पार्ने, लेनदेन भएको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार पार्ने, लेनदेन गर्दाकै बखत ब्याज रकम समेत साँवामा जोडी लिखत तयार पार्ने, ब्याजलाई साँवामा जोडी नयाँ लिखत तयार पार्ने, ऋणीले बुझाएको रकमको भर्पाई नदिने वा लिखित नबनाउने, प्रचलित कानुनमा तोकिएभन्दा बढी ब्याज लिने वा दिने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की वा कुनै शोषण गर्ने, अनुचित लेनदेनमा कसैको चल अचल सम्पत्ति हस्तान्तरण गरी लिने, अनुचित रकम लेनदेनपछि कसैलाई हैरानी गर्न पाइँदैन लगायत हाम्रो प्रस्ताव हुनेछ।’

यसलाई मन्त्रिपरिषद्ले अघि बढाउने र कसुर गर्नेलाई ७ वर्षसम्म कैद गर्ने भन्ने प्रस्ताव राखिएको पनि उनले जानकारी गराए। अनुचित लेनदेनका क्रममा ऋणीको अचल सम्पत्ति हस्तान्तरण भएमा त्यसलाई बदर समेत गरिनेछ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : ०९:३७:२४ , २ वर्ष अगाडि