रेडियो गौशाला , ११५९ पटक हेरिएको
विशाल बस्नेत,महोत्तरी । गत साता महोत्तरीको बर्दिबास नगरपालिका–३ का वडाध्यक्षले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन निजी विद्यालयका गाडी गाउँ प्रवेशमा रोक लगाए। अभिभावकले आफ्ना बच्चाहरू नजिकै रहेको सरकारी विद्यालय जनजागृत माध्यमिक विद्यालयमा नपठाई बोर्डिङ स्कुल पठाएको बताउँदै गाडी प्रवेशमा निषेध गरेका थिए। तर, शैक्षिक गुणस्तर ध्यान दिए विद्यार्थी आकर्षण गर्न निजी स्कुलका सवारी रोक्नैपर्दैन भन्ने राम्रो प्रमाण उनकै वडाको अर्को विद्यालयले दिइरहेको छ।
वडाभित्रैको जनता माध्यमिक विद्यालय गौरीडाँडामा वरपरका मात्र होइन, छिमेकका ३ जिल्लाका विद्यार्थीको समेत आकर्षण देखिएको छ। ‘धनुषा, सर्लाही, सिन्धुलीका विद्यार्थीको चाप हाम्रो विद्यालयमा छ,’ विद्यालयका प्रधानध्यापक दीपकराज बरालले भने, ‘चालु शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म ३०० जना र १ देखि ५ सम्म झन्डै २५० जनाले प्रवेश परीक्षा पास गरिसकेका छन्।’
व्यवस्थापन समितिको निर्णयअनुसार एउटा कक्षामा ५५ जना मात्र पढाउने निर्णय भए पनि त्यो संख्या बढ्न सक्ने विद्यालयको अनुमान छ। अहिले प्रायः कक्षामा २ वटासम्म सेक्सन छुट्याइएको छ। बोर्डिङ स्कुल पढिरहेका छोरीहरूले बल्ल जनता माध्यमिक विद्यालयमा नाम निकालेको भन्दै बर्दिबास–७ का विजय यादवले खुसी व्यक्त गरे। ‘यहाँ पढाउन त निक्कै कष्ट पो गर्नुपर्छ,’ उनी भन्छन्।
विद्यार्थी भर्नाको चाप यति छ कि विद्यालयले निर्धारण गरेको कोटाभन्दा प्रवेश परीक्षा दिनेहरू ४ गुणा बढी भइसकेका छन् । विद्यालय प्रशासनका अनुसार गत वर्षभन्दा यस वर्ष विद्यार्थीको चाप थेगिनसक्नु छ। जनजागृत माध्यमिक विद्यालयलाई लक्षित गरेर विद्यार्थी बढाउने अभियानअन्तर्गत वडाध्यक्ष विराट विष्टले निजी विद्यालयका गाडी प्रवेशमा रोक लगाएर गलत गरे भन्ने पुष्टि उनकै वडाको सामुदायिक विद्यालयले प्रमाणित मात्र गरेको छैन, निजी विद्यालय छाडेर सामुदायिकमा भर्ना हुन चाहनेको चापसमेत थेगिनसक्नु छ।
यो विद्यालयबाट ४ किलोमिटर दुरीमा रहेको जनता माविमा सोही गाउँका विद्यार्थी पनि बाक्लै भर्ना हुन आएको विद्यालय प्रशासनको भनाइ छ। विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन गाडी रोक्ने जस्तो गैरजिम्मेवार निर्णय होइन, जनप्रतिनिधिहरूले गुणस्तरमा ध्यान दिनुपर्ने सरोकारवालाहरूको सुझाव छ। जनप्रतिनिधिहरूलाई जिम्मेवारीबोध गराउन सक्ने जनता माध्यमिक विद्यालय मात्र एक्लो उदाहरण भने होइन। बर्दिबासमा नै अन्य धेरै सामुदायिक विद्यालयले पनि फड्को मारेका छन्।
बर्दिबासकै भित्री बस्तीमा रहेको जनहित नन्दलाल माध्यमिक विद्यालयप्रति पनि विद्यार्थीको आकर्षण लोभलाग्दो छ। निजी विद्यालय छाडेर यो विद्यालयमा पढ्न आउनेको संख्या अधिक रहेको विद्यालयले जनाएको छ। अहिले पनि यो विद्यालयमा मधेस र बाग्मती प्रदेश गरी ७ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन्।
विद्यालयका प्रधानाध्यापक कुमार घिमिरेका अनुसार निजी विद्यालयबाट अध्ययन गर्न आएका विद्यार्थीको गुणस्तर मापन गरी सोहीअनुसार अध्यापन भइरहेको छ। पालिकाको सुदूर गाउँमा रहेको यो विद्यालयले विशेष गरेर छोरीहरूलाई पढ्नु÷पढाउनुपर्छ भन्ने प्रेरणा दिइरहेको छ। यसअघि यही विद्यालयको विषयमा ‘बुहारी पढाउने विद्यालय’ शीर्षकमा द नेपालटपले समाचार प्रकाशन गरेको थियो।
प्रकाशित मिति: २०२३-०४-२६ , समय : १९:२४:४७ , २ वर्ष अगाडि