करको दायरा बढाउन मन्त्री महतलाई व्यवसायीको सुझाव

रेडियो गौशाला , ६४६  पटक हेरिएको

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पूरा गर्नुपर्ने सुझाव नेपाल चेम्बर अफ कर्मसले दिएको छ । अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसँग भेट गरी उक्त सुझाव दिएको हो ।

चेम्बरले करको दर वृद्धि गर्नुभन्दा दायरा बढाउनुपर्छ । यसका लागि नागरिकतासँगै प्यान कार्डको पनि व्यवस्था गर्नुपर्ने धारणा राखेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सीमाना हुने अवैध व्यापारलाई पनि निरूत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै बिल लिने दिने व्यवस्थालाई पनि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

चेम्बर पदाधिकारीसमक्ष अर्थमन्त्री डा. महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताउनुभयो । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको अर्थमन्त्री महतको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : ०८:३९:१९ , २ वर्ष अगाडि