रेडियो गौशाला , ६०६ पटक हेरिएको
काठमाडौँ । आज २०७९ चैत २० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा उपनिर्वाचन : तीनवटा निर्वाचन क्षेत्रमा जम्मा ६९ उम्मेदवार, सय दिनमा सरकारका ३७ उपलब्धि, मन्त्रिपरिषद बैठक : मिटरब्याजबारे छानबिन समिति गठनदेखि जासुसी परिचालन कार्यविधि खारेजसम्म, कोभिड–१९को नयाँ भेरिएन्ट नेपालमा पनि, पेट्रोलियम पदार्थको मूल्य घट्यो, अहिलेको प्रणालीले कुनै परिणाम नदिने पूर्वराजाको जिकिर, डेंगु संक्रमण बढ्न थाल्यो लगायत छन् ।
१. उपनिर्वाचन : तीनवटा निर्वाचन क्षेत्रमा जम्मा ६९ उम्मेदवार
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ३ निर्वाचन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार चितवन निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ निर्वाचन क्षेत्र नं १ मा नौ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ३६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
२. सय दिनमा सरकारका ३७ उपलब्धि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको छ । सो अवसरमा सरकारले ३७ बुँदामा उपलब्धि सार्वजनिक गरेको छ । यद्यपि, सुरुवातका करिब दुई महिना सरकारमै सामेल रहेर पछिल्लो समय प्रमुख प्रतिपक्षी भूमिकामा रहेको नेकपा एमालेले भने सरकारका काम कारबाही ‘शून्य’ अंकमा सीमित रहेको टिप्पणी गरेको छ ।
३. मन्त्रिपरिषद बैठक : मिटरब्याजबारे छानबिन समिति गठनदेखि जासुसी परिचालन कार्यविधि खारेजसम्म
सरकारले मिटरब्याज पीडितले उठाएका माग सम्बोधन गर्ने सन्दर्भमा छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । यस्तै, बैठकले जासुसी परिचालन सम्बन्धी कार्यविधि खारेज गर्ने निर्णयसमेत गरेको छ ।
४. कोभिड–१९को नयाँ भेरिएन्ट नेपालमा पनि
कोभिड–१९ अर्थात् कोरोना भाइरसको नयाँ भेरिएन्ट नेपालमा पनि देखा परेको छ । केही दिनदेखि छिमेकी मुलुक भारतमा फैलिएको उक्त भेरिएन्टका १० जना संक्रमित नेपालमा पनि पाइएको हो ।
५. पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
६. अहिलेको प्रणालीले कुनै परिणाम नदिने पूर्वराजाको जिकिर
पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना हुन नसक्ने बताएका छन् । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजाले अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिन नसक्ने जिकिर गरे ।
७. पीआर त्यागेको ९० दिनपछि उम्मेदवार बन्न पाइने रविको प्रस्टोक्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू आगामी उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्न योग्य रहेको दाबी गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस विषयलाई अदालतको फैसला र फैसलाको पूर्णपाठले स्पष्ट पारिसकेको बताएका हुन् ।
८. डेंगु संक्रमण बढ्न थाल्यो
गर्मी सुरु भएसँगै डेंगु संक्रमण पुनः बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष नेपालमा डेंगुको प्रकोप फैलिए यता डेंगु संक्रमण शून्यमा झर्न सकेको छैन ।
९. चाकडीमा नलाग्न प्रहरीलाई उपप्रधान तथा गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई चाकडीमा नलाग्न निर्देशन दिएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरुवा–बढुवामा हस्तक्षेप हुन नदिने बताएका हुन् ।
१०. नेपालको बिजुलीलाई सहज बाटो खोल्दै भारत
नेपालको बिजुलीलाई सहजरुपमा निर्यातको अनुमति पाउने गरी सम्झौताको तयारी सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई पक्षबीच नेपालको बिजुलीलाई सहजरुपमा भारतीय बजारको पहुँच दिने सम्झौताको तयारी भइरहेको हो ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : ०८:२४:४५ , २ वर्ष अगाडि