रेडियो गौशाला , २१०५ पटक हेरिएको
जनकपुरधाम । ‘के विकास भएको भन्नू बाबु ? इ यस्तै त हो नि विकास ! सडक बनाएपछि माथिबाट अलकत्रा मात्र छर्यो । दुई वर्षमै ठाउठाउमा फुट्यो’ घरको दैलोमा बसिरहेका ७० वर्षीय कर्णबहादुर पुलामी सडक देखाउँदै नेताबारे गुनासो पोखे । बर्दिबास नगरपालिका ९ पशुपतिनगर पथलैया चौकमै उनको घर छ । बर्दिबास– जलेर सडक बनेको धेरै भएको छैन । तर उनको घर अगाडि झण्डै ५० मिटरसम्मै फुटेर जीर्ण भइसकेको छ । कर्णबहादुर लगातार ३ पटकको चुनावमा महोत्तरी क्षेत्र नं. १ बाट जित्दै आएका माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेललाई मत हाल्दै आएका छन् । तर पोखरेलले गरेको कामबाट कर्णबहादुर सन्तुष्ट छैनन् ।
अलि परको प्रतिक्षालय देखाउँदै उनले भने ‘डेढलाख रुपैयाँ दिएको थियो, अधुरै छ । रातुखोला अर्कोमा फर्काएर तटबन्ध ल्याउँदैछ । कमाउने नेताले ठेक्का लियो । यताको खोलामो क्रसर आतंक छ । अरु त सानसानो खुत्रुके कतैकाही गरे होलान् । हामी त उहाँको पार्टीमा पहिल्यैदेखि बस्या हो । फेरि चुनाव जितेर गएपछि भेट हुने होइन क्यार !’
विकासको मामलामा कर्णबहादुर जस्तै असन्तुष्ट बर्दिबास नगरपालिका ९ पशुपतिनगर बन्द्रा टोलका ८२ वर्षीय जोगेन्द्र महतो देखिए । घर अगाडीको कच्ची सडकमा कालोपत्रे हेर्ने उनको पुरानो धोको छ । ‘गिरीराजमणि १५ वर्ष लगातार यहाँबाट जिते । तर हाम्रोतिर विकास गरेनन्’ उनले भने ‘विकासै नगरेका होइनन् । तर उत्तरी बेल्टमा केन्द्रित भए । सडक बनाए । हाम्रोतिर केही गरेका छैनन् । यो सडक अहिलेसम्म कालोपत्रे भएन । धुलोले आजित छौं । अब विकास गर्ने नेतालाई भोट हाल्छु ।’
गौशाला नगरपालिका ४ मल्हनिया पोखरीको डिलमा छाप्रोमा १० वर्षदेखि चिया बेच्दै परिवारको जोहो गर्दै आएकी विमला देवी साह भने सडकबाटोमा पोखरेलले गरेको कामप्रति सन्तुष्ट छिन् । तर शिक्षा पहिला जस्तै अहिले पनि रहेको उनको गुनासो छ । ‘रजखोइर टोलमा सडक बनाएका छन् । काम त केहीकेही भएको छ । ठिकठिकै गरेका छन्’ उनले भनिन् ‘तर विद्यालयमा पढाईलेखाई जस्ताको त्यस्तै छ । शिक्षकहरु गफिरहन्छन् । विद्यार्थी खेलिरहन्छन् ।’ अब जित्ने नेताबाट शिक्षा, स्वास्थ्य, रोजगार लगायतको राम्रो विकास गरोस् भन्ने बिमलाको अपेक्षा छ ।
औरही नगरपालिका १ बजारटोलका २७ वर्षीय संजयकुमार चौधरीलाई पुराना दल र नेताको विकल्प चाहन्छन् । साउदी अरबबाट फर्केर औरही बजारमा सानो किराना पसल थपेका उनले अब स्वतन्त्र उम्मेदवारलाई मत दिने बताउँछन् । ‘रोजगारी, विकास, सरसफाइ केही छैन । त्यसैले अब दल र पुराना नेताप्रतिमलाई विश्वस छैन । स्वतन्त्रलाई भोट हाल्छु,’ उनले भने ।
अहिले फेरि माओवादी केन्द्रबाट उम्मेदवार रहेका पोखरेल आफू निरन्तर जनताको सम्पर्कमा रहेर काम गरेको दावी गर्छन् । आफ्नो दुई कार्यकाल संविधान निर्माणको क्रममा केन्द्रि रहेको र पछिल्लो पटक जित्दा संविधानकै आधारमा जनताको बीचमा विकास निर्माणमा कन्द्रीत रहेको बताउँछन् ।
‘मेरो १५ वर्षको दुई अवधि संविधान निर्माणमै केन्द्रित रह्यो । त्यसमा हामी सफल रह्यौं । पछिल्लो पटक संविधानको आधारमा जनताको विकास निर्माणको काममा केन्द्रीत रहेर काम गरे । तीनवटा राष्ट्रि गौरवका योजना यस क्षेत्रमा परेको छ । जुन कार्यान्वयनका चरणमा छन् । बर्दिवासको खयरमारामा सहिद निर्मल लामा बहुप्राविधिक शिक्षालय’ उनले भने ‘ गौशालामा राजर्षिजनक विश्वविद्यालको आंगिक कलेजको रुपमा प्रदेशकै ठूलो इन्जिनियर कलेज निर्माणको चरणमा छ । त्यसमा रेल्वे सम्बन्धि पढाइ हुन्छ । बर्दिबास मेडिकल कलेज । जुन जग्गा सम्बन्धि विवादले रोकिएको छ । तर त्यसको प्रक्रिया अगाडी बढ्दै छ ।’
त्यसरी नै कृषि क्षेत्रमा सिंचाईको लागि डिपटुेल इनार, नदी कटान क्षेत्रमा तटबन्ध गरी नियन्त्रण प्रयास, ंसडकबाटो लगायतको थुप्रै काम भएको बताउँदै उनले अगामी दिनमा त्यसको उपलब्धि हुँदा जनताले महसुस गर्ने उनको तर्क छ ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर जितिरहेका पोखरेल अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको लागि फेरि उम्मेदवार छन् । २०७४ कै निर्वाचनमा जस्तै उनका बलिया निकटतम प्रतिस्पर्धी लक्ष्मी महतो फेरि एमालेबाट चुनावी मैदानमा होमिएका छन् । पोखरेल सत्ता गठबन्धनका उम्मेदवार हुन् भने लक्ष्मी विपक्षीएमाले–जसपा गठबन्धनका ।
मधेशवादी गठबन्धमा तत्तकालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार रहेका महतोलाई बाम गठबन्धन घटक उम्मेदवार पोखरेलले ४ हजार २८४ मतअन्तरले पराजित गर्दै जित निकालेका थिए । पोखरेलले २३ हजार ७७६ मत पाएका थिए भने महतो १९ हजार ४९२ मत र तेश्रोमा काँग्रेसका उम्मेदवार सिताराम भण्डारीले ९ हजार ४७५ मत ल्याएका थिए । पोखरेललाई त्यती बेला एमालेको साथ थियो भने महतोलाई राष्ट्रिय जनता पार्टी (राजपा)को । यति बेला फेरी दुबै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन् ।
महतो उम्मेदवारी दर्ताको दिन टिकट नपाउने भएपछि जसपा छाडेर एमालेमा गएर उम्मेदवार बनेका हुन् । उनले गौशाला नगरपालिकामा जसपाबाट जेठा छोरा डा.दिपेन्द्र महतोलाई मेयरमा जिताएका छन् । यस क्षेत्रमा नेतृत्वकर्ताको अभावदेखेपछि अन्तिम समयमा एमालेले प्रभावशाली मानिने महतोलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ । महतोमाथि २०७२ मा असई थमन विकको हत्या प्रकरणका आरोपित हुन् ।
पुराना दुई प्रतिस्पर्धी बीच पुनः दुई पक्षीय प्रतिस्पर्धा हुने आकलन भइरहँदा बर्दिबास नगरपालिकामा काँग्रेसबाट विद्रोह गरी स्थानीय निर्वाचनमा स्वतन्त्रबाट मेयर जितेका प्रह्लाद क्षेत्री समूहका पोषण थापा उम्मेदवारीले चुनाव रोचक बनेको छ । थापा यातायात व्यवस्था कार्यालय बर्दिबासका अधिकृतको जागिर छाडेर चुनावी मैदानमा होमिएका छन् ।
स्थानीय चुनवाको मतको आधारमा पोखरेल बलिया उम्मेदवार
बर्दिबास नगरपालिकाक सबै १४ र गौशाला नगरपालिकासबै १२ र भंगहा नगरपालिकाको वडा नं. ३,४,५ र ९ चारवटा गरी ३० वटा वडा यस क्षेत्र भित्र पर्दछ । गत स्थानीय निर्वाचनमा बर्दिबास नगरपालिका काँग्रेसबाट विद्रोही समूह स्वतन्त्रले जितेको छ भने गौशाला नगरपालिका जसपाले । ३० वटा वडामध्ये काँग्रेस र जसपाले ७–७, माओवादी केन्द्रले ६, एमाले र लोसपाले ३ वडामा जित हात पारेको छ ।
गत स्थानीय चुनावको नतिजा अनुसार यो क्षेत्रमा सत्ता गठबन्धन बलियो देखिन्छ । यस क्षेत्रमा दलका वडाध्यक्षका उम्मेदवारहरुमा माओवादीले सबभन्दा बढी मत ल्याएको छ । दोश्रोमा काँग्रेस र तेश्रोमा एमाले छन् ।माओवादी १५ हजार ८८८, काँग्रेस १३ हजार १४८, एमाले ८ हजार ३४ मत पाएका छन् । चौथोमा जसपाले ७ हजार २३७, पाँचौमा लोसपा ७ हजार ६९, छैटोमा जेब्रा छापसहित सबै स्वतन्त्र ६ हजार ५१४ मत पाएका छन् । क्रमश: जनमत पार्टीले २०२१, नेकपा एकीकृत समाजवादीले १५०८ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ ।
यदि स्थानीय चुनावमा सत्ता गठबन्धनका घटकहरु माओवादी केन्द्र, काँग्रेस, लोसपा र एकीकृत समाजवादीका वडाध्यक्षहरुले पाएको मत जोड्दा सत्ता ३७ हजार ६११ मत पुग्छ भने विपक्षी गठबन्धन एमाले र जसपाको मात्र १५ हजार २७१ छ । यो हिसाबले गठबन्धनका उम्मेदवार पोखरेलको मत महतो भन्दा दुई गुना बढी देखिन्छ ।
स्वतन्त्र पोषण थापालाई काँग्रेसको मतको भर
स्वतन्त्र उम्मेदवार थापा स्थानीय चुनावमा बर्दिबासका मेयर क्षेत्रीले पाएको १४ हजार २१० मतसहितकाँग्रेससहित दुबै गठबन्धनका मत तानेर जित्ने दाउमा लागेका हुन् । पोखरेल पटक पटक जित्दा जनअपेक्षा अनुसार काम नगरेको जनतामा वितृष्णा र महतो माथि विभिन्न अपराधिक मुद्दाले समाजमा नराम्रो छाप रहेकाले यसपट राम्रो मतले आफू जित्ने थापाको दावी छ ।
स्थानीय चुनाव र क्षेत्रीयमा धेरै फरक रहेको बताउँदै उनले गत स्थानीय निकायमा आएको नतिजाकै आधारमा गठबन्धनर्लाइ मत नपर्ने उनको तर्क छ । ‘गठबन्धन अनुसार मत पर्दैन । म लामोसमयदेखि काँग्रेसकै कार्यकर्ता हुँ, काम गरेको छु । काँग्रेसको ८÷९ हजार मत मलाई नै पर्छ । गत स्थानीय चुनावमा दलहरुको मत मिश्रित थियो । त्यसकै आधारमा यो बलियो त्यो कमजोर विश्लेषणले खासै फरक पर्दैन । दुबै गठन्धनको धरै मत मसंग छ । यो नै मेरो जित्ने बलियो आधार हो,’ उम्मेदवार थापाले भने ।
लक्ष्मी महतोलाई पुरानै मतको भर, एमालेको पाएर जित्ने दाउ
गत २०७४ को निर्वाचनमा थोरै मतले पोखरेलसंग पराजित भएकाले यसपाली एमालेको उम्मेदवार र जसपाको मत आफ्नै साथ हुने र यस क्षेत्रमा गरेको जनसेवा, व्यक्तिगत लगाव, ईष्टमित्रको कारण आफू चुनाव जित्नेमा विश्वस्त रहेको उम्मेदवार महतको दावी छ ।
‘अहिले मसंग एमालेको शक्ति छँदैछ । त्यति बेला मधेशी गठबन्धनको उम्मेदवार म हुँदा राजपा नेता सरतसिंह र काँग्रेसका सिताराम भण्डारीले पोखरेललाई नै सहयोग गर्नुभयो । तैपनिम थोरै मतले पराजित भए’ उम्मेदवार महतोले भने ‘यो पटक म एमालेको उम्मेदवार हुँ । गौशालामा हाम्रो जसपाको सरकार छ । बर्दिबास नगरपालिकामा स्वतन्त्र सरकार छ । दक्षिणी भूभागामा मेरो बलियो पक्कड छँदै छ । त्यसकारण म यसपटक फराकिलो मतान्तरले जित्छु ।’
गठबन्धनको मत पाएर जित्नेमा पोखरेल ढुक्क
विगतका बलिया प्रतिस्पर्धी महतो र स्वतन्त्रबाट पोषण थापाको उम्मेदवारीले भने माओवादी उम्मेदवार पोखरेललाई चुनौती थपेको छ । पोखरेलका लामो समयदेखिका सहयोगी शंकर महतो अहिले एमालेमा छन् । उनले पनि पोखरेलको मत एमाले तिर तान्ने सम्भावना रहेको चर्चा छ । नेता पोखरेल भने स्थानीय तह जस्तो गठबन्धनको मत आफूलाई पर्ने दावी गर्छन् । उनले आफू फेरि चुनाव जित्ने चारवटा आधारहरु रहेको बताउँछन् ।
‘पहिले कुरा त म गठबन्धनमा छु । गठबन्धनको मत मसंग छ । दोश्रो कुरा दरो संगठन भएको हाम्रो पार्टी हो । तेश्रो कुरा विगतमा पछिल्लो पटक महोत्तरीको विकासको लागि धेरै ठूलठूला कार्यक्रमहरु लिएर आएको छु । जुन अहिले भन्दा केही पछि यहाँका जनताले मलाई सम्झना गर्नेछन् । चौथो कुरा पहिलो दोश्रो संविधानसभामा होस् वा प्रतिनिधिसभामा । म निरन्तर जनतासंग सम्पर्कमा छु ।’
कोरोना काल र बाढी पहिरोको विपदको बेलामा जनताको बीचमा रहेकाले जनता आफूलाई फेरि जिताउनेमा विश्वस्त रहेको उनी बताउँछन् । आफ्नो कमीकमजोरी रहेपनि जनताले माया गरेरै सच्याउने अवसर दिने उनको तर्कछ । सभार : टुडेपाटी
प्रकाशित मिति: २०२२-११-०१ , समय : १२:१०:३४ , २ वर्ष अगाडि