पीएनजीले नेपाललाई दियो २०४ रनको लक्ष्य

रेडियो गौशाला , ३९२९  पटक हेरिएको

यूएई – आईसीसी विश्वकप क्रिकेट लिगको त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई दुई सय चार रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पीएनजीले ९ विकेट गुमाएर दुई सय तीन रनको योगफल तयार गर्यो।

पीएनजीका लागि चाड सोपरले ५३ बलमा दुई चौकासहित अविजित ३६ रनको अविजित इनिङ खेल्दा नोमान भानुवा १५ बलमा २५ रन बनाएर आउट भए। यसअघि कप्तान आसाड भाला ५३ बलमा चार चौकासहित ३६ रन जोडेर आउट हुँदा सेसे बाउ ५५ बलमा तीन चौकासहित ३१ रन बनाएर पेभेलियन फर्केका थिए।

त्यसबाहेक ओपनर किप्लिन डोरिगाले २९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ नेपालका लागि गुल्शन झाले ९ ओभरमा २८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक–एक विकेट लिए।

एकदिवसीय मान्यता बचाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने दबाब छ। यस्तै, एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी आठै खेलमा जित निकाल्नु पर्ने दबाब छ।

यो लिग २ को दोस्रो अन्तिम त्रिदेशीय शृंखला हो। नेपाल र पीएनजीसँगै घरेलु टिम यूएई सम्मिलित यो शृंखलामा नेपालले बिहीबार यूएईसँग खेल्ने छ। यस्तै, शुक्रबार पीएनजी र आगामी सोमबार यूएईसँग खेल्दै लिग २ अन्तर्गत अन्तिम भ्रमण टुङ्ग्याउने छ।

नेपालमा मार्च ९ देखि सुरु हुने शृंखलामा पनि नेपालसँगै पीएनजी र यूएई नै सहभागी हुनेछन्। स्कटल्यान्ड यसअघि नै च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो र नामिबिया तेस्रो स्थानमा छन्। यूएसए चौथो तथा यूएई पाँचौं स्थानमा छ। नेपाल पाँचौं तथा पीएनजी छैटौं स्थानमा छ।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १५:५४:२६ , २ वर्ष अगाडि