रेडियो गौशाला , २०७७ पटक हेरिएको
रौतहट — उखु खेती घटेपछि पछिल्लो दुई वर्षयता यहाँका चिनी मिलले लक्ष्यअनुसार उखु क्रसिङ गर्न सकेको छैन् । भुक्तानीको झमेला खेप्दै आएका किसानले उखु खेती गर्न छाडेपछि उद्योगलाई उखु अभाव हुन थालेको हो ।
कटहरिया नगरपालिकास्थित बाबा बैजनाथ चिनी मिलले उखु पाउन छाडेपछि अहिले मिल बन्द हुने अवस्थामा पुगेको छ । यो मिलले गत वर्ष उखु अभावकै कारण ६ लाख भन्दा बढी उखु क्रसिङ गर्न सकेन् । यस वर्ष पनि जिल्लामा किसानले उखु खेती गरेनन् । उखु अभावले सिजनभन्दा एक महिना अघि नै मिल बन्द हुने अवस्थामा पुगेको छ ।
चिनी मिल सञ्चालक बैजु बाबराले उखु नै पाउन छाडेपछि मिल संकटमा परेको बताए । ‘अघिल्लो वर्ष पनि यस्तै अवस्था भयो । लक्ष्यअनुसार क्रसिङ गर्न सकिएन । बर्सेनि मिल घाटामा जान थाल्यो,’ उनले भने, ‘उखुकै कारण मिल सञ्चालन गर्न समस्या परेको छ ।’ मिलले एक सिजनमा २० देखि २५ लाखसम्म क्रसिङ गर्ने लक्ष्य लिएको छ । तर यस पटक ७ लाख मात्र क्रसिङ गरेको छ । कुनै बेला २० लाख बढी क्विन्टल उखु उत्पादन हुने जिल्लामा अहिले मुस्किलले १० देखि १२ लाख मात्र खेती भएको उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए । ‘केही किसानले उखुको मूल्यका कारण चिनी मिल सञ्चालन अगावै मिठा उद्योगलाई बिक्रि गरिसकेका छन्,’ उनले भने, ‘अब बिस्तारै उखु खेती गर्नेको संख्या घट्दै गएको छ । भुक्तानी झमेलाकै कारण किसानले उखु लगाउन छाडे ।’
बाबा बैजनाथ मिलले दैनिक २० हजार क्विन्टल क्रसिङ गर्ने लक्ष्य राखेको छ । तर अहिले ७/८ हजारभन्दा कम क्रसिङ गरिरहेको छ । उखुकै कारण मिल बन्द हुने अवस्थामा पुगेको सञ्चालक बाबराको भनाइ छ । चैत अन्तिमसम्म सञ्चालन हुनुपर्ने मिल उखु नभएपछि बन्द हुने अवस्थामा पुगेको छ । बारा र सर्लाहीका किसानको उखु खरिद गर्ने लक्ष्य राखेको मिलले त्यो पनि गर्न सकेन् । दुवै जिल्लाका किसानले रौतहटलाई उखु दिएनन् । बाराको स्थानीय प्रशासनले रौतहट उखु ल्याउन रोक लगाएपछि झनै समस्या परेको सञ्चालक बाबराले बताए । ‘किसानले रौतहट उखु दिन खोजेका थिए । तर स्थानीय प्रशासनले यता ल्याउन दिएन,’ सञ्चालक बाबराले भने, ‘हामीले धेरै पहल गर्यौं, तर कुनै हालतमा बाराको उखु रौतहट ल्याउन नदिने भनियो ।’ बाराको स्थानीय प्रशासनले भने किसानको उखु रोक्ने काम नगरेको जनायो ।
उखु अभावले प्रत्येक सिजनमा मिलले करोडौं घाटा बेहोरेको सञ्चालकले भनाइ छ । गोल्छा समूहको स्वामित्वमा रहेको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिलले भुक्तानीमा झमेला गर्न थालेपछि उखु किसानको सख्या घट्दै गएको हो । २०५१ सालबाट सञ्चालनमा आएको श्रीराम सुगर मिल दुई वर्ष अघि बन्द भइसकेको छ । मिल बन्द भएपछि उखु किसानको संख्या आधा नै घटेको हो । श्रीरामले बारा, पर्सा, रौतहटका किसानको एक सिजनामा ३० लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको थियो ।
पछिल्लो समय करोडौंको घाटामा चलेको भन्दै २४ सै घण्टा सञ्चालन हुनुपर्ने मिल बन्द हुन पुग्यो । त्यसपछि किशानले उखु लगाउन छाडेका हुन् । उखुको चलानी, भुक्तानी र मूल्यको झमेला खेप्दै आएका जिल्लाका उखु किसानलाई घर खेतमै पुगेर बाबाबैजनाथका सञ्चालकले सबै सुविधा दिएर उत्साहित बनाउन थालेको पाइएको छ । उसले उखु बिक्री गरेको साता र पन्ध्र दिनमा भुक्तानी दिने, चलानमा सहजता र उखु लगाउन किसानलाई दिइने जुनसुकै सुविधा दिन कन्जुस्याइँ नगर्ने जनायो । मिलले किसानको खेतमै पुगेर बीउबिजन, मलखाद र भुक्तानीमा सहयोग गर्दै आएको छ । उसले उखु काट्ने, ढुवानीदेखि भुक्तानीसम्मको सुविधान दिन थालेको जनायो । मिलले उखु काट्नेदेखि ढुवानीसम्मको सुविधा भएको केन हार्वेस्टर (आधुनिक मेसिन) खरिद गरेर किसानलाई जिम्मा दिइसकेको छ । तर जिल्लामा यस पटक पनि उखु किसानको संख्या बढेको पाइँदैन ।
प्रकाशित मिति: २०२३-०२-२७ , समय : १२:००:३१ , २ वर्ष अगाडि