रेडियो गौशाला , १०५० पटक हेरिएको
जनकपुरधाम- ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोडेर भागेका दुई जना अझै फरार रहेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका–२ का रोशन यादव र मिथिला नगरपालिका–६ का शंकर महतो पक्राउ पर्न सकेका छैनन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरु भारतमा लुकेर बसिरहेका छन् । उनीहरुलाई पक्राउ गर्न भारत पुगेका प्रहरीहरु सोमबार रित्तै जनकपुरधाम फर्केका छन् । प्रहरीले खबर पाएको ‘ लोकेशन’मा उनीहरु नभेटिएपछि फर्किएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार प्रहरीको गोप्य स्रोतले फरार मध्ये एक जना लखनउमा लुकिछिपि बसिरहेको खबर पाएको थियो । तर त्यहाँ नभेटिएको एसपी खड्काले बताए । फरार यादव सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दामा थुनामा थिए भने महतो हात हतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका थिए । यादव माघ ४ गते र महतो १३ गते पक्राउ परेका थिए । उनीहरुसँगै हिरासतबाट ६ जना थुनुवा गत माघ १५ गते राति फरार भएका थिए । अब भारतीय प्रहरीसँग सहकार्य गरेर उनीहरुको खोजी कार्य भइरहेको छ । पक्राउ परिसकेका अन्य चार जना पुर्पक्षको लागि सिन्धुली पठाइएको उनले जनाए ।
प्रहरीले हिरासत फुटाउने मुख्य योजनाकार क्षीरेशवरनाथ नगरपालिका– ५ का विनोद शर्मा, मिथिला नगरपालिका– २ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतोलाई पक्राउ गरी अदालतको फैसला अनुसार पुर्पक्षका लागि पठाइसकेका छन् । यस घटनामा मधेश प्रदेश प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक मनोज यादवको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्व छानबिन समिति बनाएको थियो । तर बीचमै धनुषाका प्रहरी उपरीक्षक क्षेत्रीको सरुवा भइसकेको छ । सो समितिले घटनाबारे अझै अनुसन्धान गरिरहेको बुझिएको छ । सबै फरार थुनुवा पक्राउ परेपछि बयान र अनुसन्धानको आधारमा प्रहरी प्रमुखलाई प्रतिवेदन बुझाउने तयारीमा छन् ।
सो घटनामा तीन जना प्रहरीलाई निलम्बन पनि गरिएको छ । हिरासत कक्ष अधिकृत सहायक प्रहरी निरीक्षक (असइ) अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको छ भने त्यहाँ कार्यरत २६ जना प्रहरीलाई पनि जिल्लामा तानिएको छ ।
प्रकाशित मिति: २०२३-०२-२२ , समय : ०९:११:४२ , २ वर्ष अगाडि