रेडियो गौशाला , ७८१५ पटक हेरिएको
जनकपुरधाम- मुख्यमन्त्री सरोज कुमार यादवले १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको शुभारम्भ गरेसँगै मिथिला बिहारीको डोला जनकपुरधामको लागि प्रस्थान गरेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मठमा मुख्यमन्त्री यादवले मिथिला बिहारीको डोला उठाएर जनकपुरधामको लागि विदाई गर्नुभएको थियो । मिथिला बिहारीको डोला आज जनकपुरधामको हनुमानगढी पुग्ने छ । मिथिला बिहारी नगरपालिकाले आज बिहान आयोजना गरेको परिक्रमा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै मुख्यमन्त्री यादवले परिक्रमा यात्रीको मार्ग सहज बनाउन प्रदेश सरकार हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वृहत्त धार्मिक यात्रालाई व्यवस्थित गर्न स्थानीय सरकारसित समन्वय गर्नुका साथै संघीय सरकारलाई पनि सहयोगको लागि मुख्यमन्त्री यादवले आग्रह गर्नुभयो । तीनै तहको सरकारले परिक्रमामा सहभागी हुने यात्रीको यात्रा सहज बनाउनुपर्ने धारणा मुख्यमन्त्री यादवको थियो । वृहत्त परिक्रमा विकास समिति गठनको लागि संघीय सरकारसित समेत पहल गर्ने मुख्यमन्त्री यादवले बताउनुभयो ।
धनुषाको मिथिला विहारी नगरपालिका–८ कचुरीको मठबाट डोला निस्केसँगै प्रत्येक वर्ष झैं मिथिला मध्यमा परिक्रमाको शुभारम्भ भएको हो । अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा फागुन प्रतिपदामा सुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । जय सियाराम भन्दै सम्बोधनको सुरुवात गर्नुभएका मुख्यमन्त्री यादवले मिथिला बिहारी मठलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । जनकपुधाम आउने धार्मिक पर्यटकहरु मिथिला बिहारी मठमा दर्शन पूजा गर्दै धनुषाधाम जाने वातावरण बनाउनुपर्ने धारणा मुख्यमन्त्री यादवको थियो ।
मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, प्रतिनिधिसभा सदस्य प्रतिक्षा तिवारी, प्रदेशसभा सदस्यद्वय शेषनारायण यादव, कुमरकान्त झा लगायतको उपस्थिति रहेको थियो ।
मिथिला बिहारी मठका महन्थ रामनरेश शरणको नेतृत्वमा मिथिला बिहारीको डोला जनकपुरधामको लागि प्रस्थान गरेको छ ।
प्रकाशित मिति: २०२३-०२-२० , समय : १९:५७:३० , २ वर्ष अगाडि