रेडियो गौशाला , ७९८ पटक हेरिएको
सर्लाही- सर्लाहीको मलंगवा नगरपालिकाले स्थानीय एक विपन्न परिवारलाई लैनो भैँसी सहयोग गरेको छ। विपन्न परिवारमा तिम्ल्याहा शिशुको जन्म भएपछि नगरपालिकाले भैँसी दिएर सहयोग गरेको हो।
सर्लाही सदरमुकामसमेत रहेको मलंगवा –६, खुटौनाका जितेन्द्रकुमार रायकी पत्नी गीतादेवीले केही दिनअघि तिम्ल्याहा शिशु जन्माएकी थिइन्।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका राय परिवारमा ३ शिशुको जन्म भएपछि बालबच्चाको लालनपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले लैनो भैँसी सहयोग गरिएको मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवले जानकारी दिए।
‘उहाँहरुलाई जीविकोपार्जनकै समस्या थियो, त्यसमाथि तीन शिशुको जन्म भएपछि झन् गाह्रो हुने देखेर लैनो भैँसी सहयोग गरेका हौँ,’ मेयर यादवले भने, ‘अब शिशुहरुलाई दूधको अभाव हुँदैन। एक छाकको दूध बेचेर पनि घर व्यवहार चलाउन सकिन्छ।’
नगरपालिकाले भैँसी खरिदका लागि ९२ हजार रुपैयाँ दिएको थियो। सोही रकमबाट लैनो भैँसी खरिद गरेको जितेन्द्र यादवले बताए।
प्रदेशसभा सदस्य कौशलकिशोर राय, मेयर नागेन्द्र प्रसाद यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम र मलंगवा ६ का वडाध्यक्ष रामकैलाश रायले घरमै पुगेर राय दम्पतीलाई भैँसी खरिदका लागि ९२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।
प्रकाशित मिति: २०२३-०२-०४ , समय : ०९:४३:०६ , २ वर्ष अगाडि