महोत्तरीको भङ्गाहामा अवस्था सामान्य भएपछि मात्रै कफ्र्यू हटाइने

रेडियो गौशाला , १७०२  पटक हेरिएको

गौशाला– महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा हिजोदेखि लगाइएको कफ्र्यू अवस्था सामान्य भएपछि मात्रै हटाउने जिल्ला प्रशासन कार्यालयले तयारी गरेको छ ।

हिजो दिउँसो दुई पक्षबीच भएको झडपपछिको स्थितिलाई नियन्त्रमा लिन दिउँसो ४ बजेदेखि कफ्र्यू लगाइएको छ । कफ्र्यू लगाइएपछि अहिले स्थिती सामान्य हुँदै गएको र खुलाउने विषयमा आज राजनीतिक दलहरुसँग छलफल गर्ने तयारी भएको सीआईएनसँग कुरा गर्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताउनुभयो ।

उहाँका अनुसार छलफल गरेर सहमतीमा पुगेपछि मात्रै कफ्र्यू हटाउने प्रशासन कार्यालयको तयारी छ । कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म हिजो दिउँसो ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यू लगाएको हो । झडपमा परेर १३ जना घाइते भएका थिए ।

प्रकाशित मिति: २०२२-१०-२८ , समय : ०८:४६:१७ , २ वर्ष अगाडि