रेडियो गौशाला , १७६० पटक हेरिएको
एजेन्सी- सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन् ।
दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र जुत्ता तथा चप्पल यत्रतत्र छरिएका बताइएको छ । सेनेगलमा सडक दुर्घटनाहरू सामान्य छन । मुख्यतया चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेका विज्ञहरू बताउँछन् । तर पछिल्लो एउटै घटनामा धेरै मानिसको ज्यान गुमेको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति: २०२३-०१-०९ , समय : ११:१२:३१ , २ वर्ष अगाडि