रेडियो गौशाला , १५५२ पटक हेरिएको
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि जसपा सरकारमा सहभागीबारे ‘पर्ख र हेर’को अवस्थामा छ ।
प्रधानमन्त्री प्रचण्डले जसपासहित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयास गरेका छन् ।
तर, दुवै दलहरू आन्तरिक गृहकार्यमा जुटिरहेका छन् । पाँच दलीय गठबन्धन छाडेर चुनावअघि नै एमाले कित्तामा उभिएको थियो । अहिले एमालेको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे निर्णय गर्न सकेको छैन ।
सरकारमा जाने वा नजाने निर्णय गर्न पुस १६ गते केन्द्रीय कार्यकारिणी समिति र १८ र १९ गते राजनीतिक समितिका बैठक बस्ने प्रवक्ता मनिष सुमनले बताए ।
उनले सरकारले राख्दै आएको मदेसको मुद्दा सम्बोधन गर्ने परिस्थिति बनेमा सरकारमा सहभागी हुनसक्ने तर्क गरे ।
जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुन पावर शेयरिङको विषयमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवादमा छन् ।
प्रचण्ड र ओलीसँगको भेटमा अध्यक्ष यादवले सरकारमा सहभागितासहित मुख्य एक संवैधानिक पदमा दाबी गरेको एक नेताले बताए ।
उनले दलहरूबिच प्याकेजमै भागबण्डा हुने भएपछि उपराष्ट्रपतिसहित तीन मन्त्री र मधेस प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरे ।
तर, संघीय सरकारको दुई मन्त्री र मधेस प्रदेशको मुख्यमन्त्री डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग आलोपालो दिने गरी सहमतिको प्रयास भइरहेको छ ।
तर, ओली र प्रचण्डको आलोपालो प्रस्तावमा अध्यक्ष यादव सकारात्मक बनेका छैनन् । पार्टीको बैठक आह्वान भइसकेकाले सरकारमा जाने वा नजाने भन्ने कुरा त्यहीबाट टुङ्गो लाग्ने जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले बताए ।
मधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा जसपासहित जनमत पार्टीले पनि दाबी गरेको छ । सङ्घदेखि प्रदेशसम्म प्याकेजमा भागबण्डा मिलाउने भएकाले मधेस प्रदेशको मुख्यमन्त्री जसपा र जनमतलाई आलोपालो गरी नेतृत्व छाड्न ओली र प्रचण्ड सहमत छन् ।
प्रारम्भिक प्रस्तावअनुसार एमालेलाई ४, माओवादीलाई २ र मधेशमा जसपा र जनमतको आलोपालो हुनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ । तर, यसबारे औपचारिक निर्णय भएको छैन । तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा आए यो सहमतिमा फेरबल हुनसक्ने नेताहरुले बताएका छन् ।
मधेस प्रदेशमा १०७ सांसद छन् । सरकार निर्माणको लागि आवश्यक ५४ सांसद आवश्यक पर्छ। मधेशमा २३ सिटसहित एमाले पहिलो दल बनेको छ। काँग्रेसले २२, जसपाले १६, जनमतले १३, लोसपाले ९, माओवादीले ८ र नेकपा एसले ७ सीट जितेको छ ।
यहाँ राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक–एक सीट जितेको छ भने ६ स्वतन्त्र सांसद छन् ।
प्रकाशित मिति: २०२२-१२-२९ , समय : १७:१७:२९ , २ वर्ष अगाडि