रेडियो गौशाला , १४११ पटक हेरिएको
जनकपुरधाम – सप्ताहव्यापी रूपमा मनाइने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सेतुका रूपमा रहेको विवाहपञ्चमी महोत्सवका दिन मिथिलावासीले आफ्ना छोराछोरीको विवाह गर्नुहुन्न भन्ने प्रचलन रहेको छ।
त्रेतायुगमा अयोध्याराका राजा दशरथका छोरा राम र मिथिलाका राजा जनकको छोरी सीताको विवाह भएको दिन विवाह भए राम र सीताले पाएको दुःख कष्ट पाउने मान्यताका आधारमा मिथिलावासीले आफ्ना छोराछोरीको विवाह गर्नुहुन्न भन्ने मान्यता रही आएको हो।
राम र सीताको जोडीलाई आदर्शको जोडी मानिए पनि सो दिन छोरीको विवाह गर्दा छोरीले माता जानकीले जस्तै दुःखकष्ट पाउने जनविश्वास मिथिलावासीमा रहेको हुँदा प्रायः मानिसहरूले विवाहपञ्चमीका दिन विवाह नगर्ने परम्परा रहेको छ। तर अहिले आएर त्यो परम्परा भने विस्तारै घट्दै गएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बताउँछन्।
करिब नौ लाख वर्ष पूर्व त्रेतायुगमा मंसिर शुक्ल पञ्चमी तिथिमा जनक नन्दनी सीताको विवाह अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र रामसँग भएको थियो।
त्यो दिन सोमबार र नक्षत्र भने श्रवण रहेको थियो। विवाहपञ्चमीका नामले प्रख्यात रहेको सो दिन यस वर्ष शनिबार अर्थात् मङ्सिर २६ गते बुधबार परेको छ।
यसरी राम र सीताको विवाह ब्राह्मण विवाह हो र हिन्दूशास्त्रमा यस्तो विवाहलाई आदर्श र उत्तम विवाह मानिन्छ। भनिन्छ, विवाह रामचरित मानस तथा मिथिलाको वैद्धिक परम्पराअनुसार भएको हो। प्रत्येक वर्ष मनाइने विवाहपञ्चमीले त्रेतायुगीन विवाहको झ–झल्को दिने गर्छ।
विवाहपञ्चमीका दिन छोरीको विवाह गर्दा जसरी सीतालाई १४ वर्षको वनवास, अग्निपरीक्षा, वनवासपछि फर्केर अयोध्या आउँदा फेरि वनमै जानुपर्ने र अन्त्यमा पृथ्वीको गर्भमा लुप्त हुनुपर्ने जस्ता दुःखकष्ट भयो त्यस्तै दुःख कष्ट छोरीलाई हुने भनाइ छ।
यही कारण यहाँका मानिसहरूमा सोही दुःख त पाउने होइन, भन्ने जनविश्वासका आधारमा प्रायः विवाह नगर्ने गरिएको राममन्दिरका महन्त रामगिरीको भनाइ छ। उनले भने, ‘त्रेतायुगकालिन जनविश्वास अहिले पनि छ, तर त्यो धेरै हदसम्म हराईपनि सक्यो, अब त कतिपय जोडीहरूको विवाह विवाहपञ्चमीकै अवसरमा हुन्छ।’
मैथिली भाषाका वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमल भन्छन, ‘सिता बनवासमा भएको तथा गर्भवती अवस्थामा समेत कष्टपूर्ण जीव व्यतित गरिरहेकी सीताबारे त्रेतायुगमा राजा जनक तथा मिथिलावासीले खोजखबर नलिएकाले सीताले श्राप दिइन् कि विवाह पञ्चमीका दिन मिथिलामा जुन कन्याको विवाह हुन्छ। त्यसले म जस्तै दुःख पाउनेछिन। यही लोकविश्वासका कारण मिथिलीवासीले विवाहपञ्चमीका दिन आफ्नो कन्याको विवाह गराउँदैनन्।’
यता जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको भनाइ भने डा. विमल भन्दा फरक छ, ‘कालान्तरमा आएर विस्तारै यो जनविश्वास हट्दै गएको छ र कतिपयले यही दिनमा आफ्नो कन्याको विवाह गर्छन्।’ यहाँ विवाहमा मान्यवरले वरवधूलाइ ‘राम–सीता जस्तै एक भएर बस्नू’ भन्ने आशिष दिने गर्छन्। यसैले यस दिन र यो महिनामा विवाह गर्नु पुण्य मानिन्छ।’
विवाह पञ्चमीमहोत्सवका दिन जानकी मन्दिरका महन्थ रामतपेश्वर जनक र राम मन्दिरका महन्थ रामगिरि दशरथका रूपमा विवाह मण्डपमा उपस्थित हुन्छन् भने अयोध्याबाट आएका सन्त, महन्थ जन्तीका रूपमा उपस्थित हुने गर्छन्।
शुक्रबारदेखि सुरु भएको राम र सीताको विवाह कार्यक्रमअन्तर्गत जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुषा यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह, राम कलेवा जस्ता विधि हुन्छन्।अन्नपूर्ण पोस्ट
प्रकाशित मिति: २०२२-११-२९ , समय : ०७:०९:३७ , २ वर्ष अगाडि