अब कसको सरकार, प्रधानमन्त्री को ?

रेडियो गौशाला , ११५४  पटक हेरिएको

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको केही सिटको परिणाम आउन बाँकी छ। पछिल्लो मत परिणामअनुसार १५५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ भने १० क्षेत्रको परिणाम आउन बाँकी छ।

प्रारम्भिक नतिजाअुनसार ५३ निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको छ। सुनसरी-४, धनुषा ४ र उदयपुर-१ मा कांग्रेसले अग्रता लिइरहेको छ।

त्यस्तै नेकपा एमालेले ४१ निर्वाचन क्षेत्रमा विजयी हुँदै दोस्रो स्थानमा छ। सुनसरी-३ मा एमालेले अग्रता लिइरहेको छ। दोलखा, बाजुरा र स्याङ्जाको मतगणना हुन बाँकी छ।

मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चर्चा राजनीतिक वृत्तमा व्याप्त छ। अवको प्रधानमन्त्री को? शेरबहादुर देउवा, पुष्पकमल दाहाल कि केपी शर्मा ओली?

आम जनता यही प्रश्नमा रुमलिरहेका छन्। यसको एकीन उत्तर अहिले कुनै राजनीतिक दलसँग छैन। सरसर्ती हेर्दा गठबन्धन दलहरुबाट नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने देखिन्छ। तर सरकार गठनका अन्य विकल्पका बारेमा आन्तरिक चलखेल सुरु भइसकेको छ।

वर्तमान सत्ता गठन्धनले दाहाललाई अहिले नै प्रधानमन्त्री बनाउने सम्भावना न्यून छ। तर सत्ता गठबन्धनमाथि भूराजनीतिको छायाँ पर्‍यो भने सुरुमै दाहाल प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ नै।

सरकार गठन र भावी प्रधानमन्त्रीको विषयलाई लिएर राजनीतिक दलका शीर्ष नेताले औपचारिक/अनौपचारिक वार्ता र भेटघाटलाई तीव्र पारेका छन्। झापामा रहेका केपी शर्मा ओली पनि काठमाडौं आइपुगेका छन्। सत्ता फेरबदल गर्न सकिन्छ कि भनेर ओली आन्तरिक कसरतमा जुटेका छन्। तर गठबन्धनका नेताहरूले नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गर्ने रट लगाइरहेका छन्। सरकारका गृहमन्त्री बालकृष्ण खाणले आइतबार त्यही कुराको संकेत दिन्छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच शनिबार भएको द्विपक्षीय सम्वादमा समेत वर्तमान सत्ता गठबन्धनकै सरकार बनाउने विषयमा लगभग सहमति जुटेको उनीहरू निकट नेताहरूले दाबी गरेका छन्। सिट संख्या पुगे वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिन शीर्ष नेताहरूलाई सहज देखिन्छ। दुई चार सिट नपुगे साना दललाई तानतुन गर्ने पक्षमा छन् देउवा र प्रचण्ड।

त्यसको मेसो मिलाउन प्रचण्डले जेल जीवन विताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर सरकार गठनमा सघाउन प्रस्ताव गरे। चौधरीले पार्टीमा छलफल गरेरमात्र प्रतिक्रिया दिने प्रचण्डलाई जवाफ दिएको स्रोतले बताएको छ।

नेकपा माओवादी केन्द्र तेस्रो सानो दलमा खुम्चिएको छ। सो पार्टीका अध्यक्ष दाहाल सुरुमै सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने पक्षमा छैनन्। किनकि दाहाललाई अंकगणितले समेत पछि पारेको छ। तर आफू प्रधानमन्त्री बन्ने सन्दर्भमा दाहालले ‘ट्रयाक टु’ छलफललाई खुला राखेका छन्। दाहाललाई प्रधानमन्त्री बनाउन या त एमाले अध्यक्ष ओलीले प्रस्ताव गर्नुपर्‍यो या त वर्तमान सत्ता गठबन्धनले।

वर्तमान सत्ता गठन्धनले दाहाललाई अहिले नै प्रधानमन्त्री बनाउने सम्भावना न्यून छ। तर सत्ता गठबन्धनमाथि भूराजनीतिको छायाँ पर्‍यो भने सुरुमै दाहाल प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ नै।

गणितीय हिसाबले सत्ता गठबन्धन दलहरु नै सरकार गठनका लागि बहुमततिर उन्मुख भइरहेका छन्। तर नेपालको राजनीतिमा विगतमा अंकगणितको मात्र हिसाब भएको देखिँदैन। भूराजनीतिक छायाँ र त्यसका प्रभावहरू पनि विगतमा अर्थपूर्ण देखिएका थिए।

अर्को विषय रह्यो एमालेको भूमिका। एमाले पनि दाहाललाई सजिलै प्रधानमन्त्री बनाउने पक्षमा देखिँदैन। विगतका तिक्तता र अविश्वासले पनि ओली-दाहालको समीकरण बन्न सजिलो छैन। पाँच वर्ष सत्ता बाहिर बस्नुभन्दा दाहाललाई प्रधानमन्त्री बनाएर राष्ट्रपति, सभामुख, मुख्यमन्त्रीलगायतमा ‘पावर सेयरिङ’ गरेर कम्युनिस्टहरूबीच सहकार्य गर्नुपर्छ भन्ने एकथरी एमालेको बुझाइ छ। फेरि पनि माथि भनेजस्तै एमाले-माओवादी गठबन्धनमा भूराजनीतिक छाँया पर्‍यो भनेचाहिँ प्रचण्ड वा केपी ओलीमध्ये जोपनि प्रधानमन्त्री बन्नसक्ने सम्भावना रहन्छ नै।

प्रत्यक्षतर्फ नेकपा एमाले ४२, माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७ स्थानमा विजयी भएको छ। जारी मतगणना भएका निर्वाचन क्षेत्रमा माओवादी र समाजवादीले अग्रता लिएको छैन।

प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी ६ सिटमा निर्वाचित भएको छ। जसपा सुनसरी-१ मा अगाडि छ। त्यस्तै राप्रपाले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, नागरिक उन्मुक्ती पार्टीले ३ सिट जितेको छ भने स्वतन्त्रतर्फ ५, जनमत पार्टीले १ स्थान जितेको छ। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ स्थान जितेका छन्। यी क्षेत्रहरूको अन्तिम परीणाम घोषणा भइसकेको छ।

त्यस्तै समानुपातिकतर्फको हिसाब अझै बाँकी नै छ। समानुपातिकतर्फ खसेको कूल १ करोड ९ लाख मतमध्ये यो समाचार तयार पार्दासम्म ८८ लाख ६ हजार ५ सय ६९ गणना भएको छ। जसमा एमाले अग्रस्थानमा छ भने कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ।

गठबन्धनको बहुमत हुनेमा ढुक्क कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालको मुख्य चासो पहिलो चरणमा प्रधानमन्त्री को बन्ने र राज्यशक्तिका कार्यकारी अंगहरुको बाँडफाँट कसरी गर्ने भन्नेमा केन्द्रित रहेको नेताहरूको दाबी छ। यता एमाले अध्यक्ष ओली ‘पर्ख’ र ‘हेर’ को अवस्थामा छन्।

समानुपातिक र प्रत्यक्षतर्फको मत विश्लेषण गर्दा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा राष्ट्रिय दल बन्नेछन्।

वर्तमान गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीले कांग्रेससँग तालमेल गरेको छ। सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीलाई ‘थ्रेस होल्ड’ कटाउन हम्मेहम्मे परिरहेको छ। ‘थ्रेसहोल्ड’ ल्याउन कम्तिमा २ लाख ९० हजार मत ल्याउनुपर्ने देखिन्छ।

अब झण्डै २५ लाख मतगणना हुन बाँकी रहँदा समाजवादीको २ लाख ३६ हजार ७५४ पुगेको छ। अझै ५५ हजार बढी मत ल्याउन समाजवादीले कसरत गरिरहेको छ। स्याङ्जा, बाजुरा र दोलखाको मतगणनाको अन्तिम परिणाम आउन केही समय लाग्ने देखिन्छ।

बहुमतसहितको सरकार बन्न १३८ मत चाहिन्छ। मत विश्लेषण गर्दा हालको सत्ता गठबन्धन बहुमतउन्मुख देखिन्छ। गठबन्धनको बहुमत हुनेमा ढुक्क कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालको मुख्य चासो पहिलो चरणमा प्रधानमन्त्री को बन्ने र राज्यशक्तिका कार्यकारी अंगहरुको बाँडफाँट कसरी गर्ने भन्नेमा केन्द्रित रहेको नेताहरूको दाबी छ। यता एमाले अध्यक्ष ओली ‘पर्ख’ र ‘हेर’ को अवस्थामा छन्।

यस्तो छ सरकार बनाउने प्रावधान?

नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ। प्रतिनिधिसभामा प्रत्यक्ष १६५ र समानुपातिक ११० सहित २७५ सिट रहेको छ। सरकार गठनका लागि कम्तिमा १३८ सिट चाहिन्छ। सोही धाराको उपधारा (२) मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

उपधारा (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

उपधारा (४) मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ। उपधारा (५)मा  उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

उपधारा (६)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्नेछ। त्यस्तै उपधारा (७)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनको मिति तोक्नेछ।

उपधारा (८)मा संविधानबमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान छ।

प्रकाशित मिति: २०२२-११-२८ , समय : ०८:१२:३० , २ वर्ष अगाडि