रेडियो गौशाला , ७१२ पटक हेरिएको
जनकपुरधाम : यसअघि विभिन्न चरणका निर्वाचनमा हिंसात्मक र विवादास्पद घटना धेरै मधेस प्रदेश क्षेत्रमा नै भए। त्यसैले प्रत्येक निर्वाचनमा यस क्षेत्रलाई संवेदनशील सूचीमा राखिन्थ्यो। तर, यसपटक फरक दृश्य देखियो। तुलनात्मक रूपमा यहाँ चुनाव शान्तिपूर्ण बनेको छ। ६२.५ प्रतिशत मत खसेको छ।
दलका कार्यकर्ताले छिटपुट रूपमा विवाद गर्न खोजे पनि त्यसलाई समयमै सल्टाएर निर्बाध रूपमा मतदान सम्पन्न भएको मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी मसऊद आलम खाँले बताए। ‘सबैको सहयोग र जनताको जागरुकताका कारण मतदान निकै शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ’, डीआईजी खाँले भने, ‘रौतहट र सिरहा जिल्लामा सामान्य विवाद हुँदा समयमै हामीले सुरक्षा सतर्कता अपनाएर विवाद साम्य पारेका थियौं। त्यसले मतदानमा केही पनि समस्या आएन। यसपालि मतदातामा सचेतनाको स्तर निकै बढेको मैले पाएँ।’
सिरहाको कर्जन्हा नगरपालिका–६ स्थित जनता मावि बडहरामालको मतदानस्थलमा जसपा र नेकपा एसका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ३ राउन्ड हवाई फायर गरेको थियो। मतदानस्थल बाहिर होहल्ला भएपछि भीडलाई नियन्त्रित गर्न रौतहटमा प्रहरीले हवाई फायर गरेको थियो।
रौतहटको गुजरा नगरपालिकाको कनकपुर मावि मतदान केन्द्रमा एक राउन्ड हवाई फायर भएको थियो। यी दुई घटनाबाहेक अन्य संवेदनशील खालका वा हिंसात्मक गतिविधि मधेस प्रदेशमा कहीँ कतै नभएको प्रहरीले जनाएको छ।
‘यसपालि मधेसका मतदातामा गजबको चेतनास्तर वृद्धि भएको देखिन्छ,’ शिक्षिका कमला साहले भनिन््, ‘अब पहिलाजस्तो नेताको पछि लागेर हिँड्ने वा अरूका लागि आपसमा लड्नेको जमात कम हुँदै गएको छ।’
जनतालाई राजनीतिप्रतिको आस्थामा कमी आएको महसुस गरेको उनले सुनाइन्। ‘अर्कोतर्फ नेताहरू जहिले पनि माथिमाथि मिल्ने र जनता आफैंमा लडेर कहिलेसम्म मर्ने भन्ने चेतनास्तरको पनि वृद्धि भएका कारण कहीँ कतै विवाद नभएको देखिन्छ’, उनले भनिन्, ‘अनावश्यक विवाद गर्नु साटो आरामले मत हाल्ने र आफ्नो कामकाजमा लाग्नेहरू बढी छन्।’
अत्यधिक जनघनत्व र घनाबस्ती रहेको यस प्रदेशमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३२ सिटका लागि ५ सय ९० जना र प्रदेशसभाको ६४ पदका लागि १ हजार १७ जनाले प्रतिस्पर्धा गरेका हुन्। प्रदेशभरि ३१ लाख १८ हजार ९ सय ९२ जना मतदाताहरूले उत्साहपूर्वक आफ्ना जनप्रतिनिधि चयनका लागि मतदान गरेका हुन्। निष्पक्ष रूपमा मतदान गराउन प्रदेशभरि ३३ हजार ८ सय ८० जना कर्मचारी खटाइएका थिए भने। पाँच सयभन्दा बढी मतदाता सहभागी हुने मतदानस्थलमा सुरक्षाकर्मीबाहेक ४ जना स्वयम्सेवकसहित १२ जना र ५ सयभन्दा कम रहेकोमा ११ जना र २ सय ५० जनासम्म सहभागी हुने स्थायी मतदान केन्द्रमा ५ जना कर्मचारी निर्वाचन आयोगले परिचालन गरिएको थियो।
भारतसँग जोडिएको ३ सय ६७ किलोमिटर सिमाना रहेको मधेस प्रदेशको ८ वटै जिल्लामा ४ हजार २ सय ३५ मतदान केन्द्र र २ हजार १ सय ५६ मतदानस्थलमार्फत मतदान भएको हो। जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले ९० प्रतिशत मतदानस्थल अति संवेदनशील र संवेदनशील भनी छुट्ट्याएको थियो।
भयरहित वातावरणमा मतदान सम्पन्न गराउनका लागि २४ हजार म्यादी प्रहरीका साथै ४५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको थियो। कुनै प्रकारका अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले एक साता पूर्वदेखिनै मदिरा बिक्री वितरणमा समेत रोक लगाएको थियो। मतदानअघि पनि प्रचारप्रसारका क्रममा विगतमा हुने गरेका तडकभडक र शक्ति प्रदर्शनहरू यसपालि नगन्य नै भयो जसले गर्दा मतदान शान्तिपूर्ण भएको मतदाताहरू बताउँछन्।
२०५४ सालमा ३ हजार ९ सय १३ गाविस र ५८ नगरपालिकामा निर्वाचन भएको थियो। दोस्रो चरणको निर्वाचनअन्तर्गत झडप हुँदा बारा, सिरहा र धनुषामा तीन जनाको मृत्यु भएको थियो। २०४९ सालमा दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जेठ १५ गते पहिलो चरणको निर्वाचनअन्तर्गत धनुषा र सप्तरीमा मतदाताबीच गोली हानाहान हुँदा १/१ जनाको ज्यानै गएको थियो।
चुनावमा मतदाताबीच भएको झडपका कारण रौतहटका ८ गाविसमा निर्वाचननै स्थगित हुन पुगेको थियो। सोही बेला जेठ १८ गते सम्पन्न दोस्रो चरणको निर्वाचनको क्रममा सिरहा र महोत्तरीमा एक÷एक जनाको ज्यान गएको थियो। मधेस प्रदेशका जिल्लाहरूमा निर्वाचनका बेला प्रायः हूलहुज्जत र झडप हुने भए पनि यसपालिको निर्वाचन छिटपुट घटनाबाहेक निकै सौहाद्र्रपूर्ण भएको छ।
प्रकाशित मिति: २०२२-११-२१ , समय : ०७:०८:२३ , २ वर्ष अगाडि