एमालेसँग पार्टी एकताको सम्भावना छैन् : पूर्व प्रधानमन्त्री नेपाल

रेडियो गौशाला , २३४  पटक हेरिएको

सर्लाही – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा आज साँझ पत्रकारसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष नेपालले एमालेसँग एकताको कुनै सम्भावना नरहेको उल्लेख गरेका हुन् । आफ्नो नाम सुन्ने बित्तिकै एमालेका नेताहरुको सात्तो जाने गरेको नेपालको भनाई छ । उनले व्यवहार मिल्नेसँग भने जुनसुकै बेला पार्टी एकता हुनसक्ने बताए ।

सरकारले अहिले साना पार्टी फोड्ने गरी अध्यादेश ल्याउन लागिएकोप्रति पूर्व प्रधानमन्त्री नेपालले आपत्ति जनाए । नेता नेपालले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने भनी जनतालाई भ्रममा पारेर सरकार गठन गरेको तर सरकार अहिले नै पूर्णरुपमा असफल भइसकेको दावी गरेका छन् ।

उनले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढेको समेत आरोप लगाए । सरकारका अलोकतान्त्रिक गतिविधिबाट जनता आजित रहेका पूर्व प्रधानमन्त्री नेपालको भनाई रहेको छ ।

सदरमुकाम मलङ्गवा आइपुग्नु भएका नेपालले आज नै सर्लाही क्षेत्र नं. २ ले आयोजना गरेको अगुवा कार्यकर्तासँग भेटघाट गरेका छन् ।

प्रकाशित मिति: २०२५-०१-२० , समय : ०७:१६:२६ , २ हप्ता अगाडि