वीरगञ्जलाई आर्थिक राजधानी घोषणा नगरे आन्दोलन गर्ने चेतावनी

रेडियो गौशाला , ५८५  पटक हेरिएको

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् । वीरगञ्जमा शनिबार पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले मुलुकमा व्याप्त भ्रष्टाचारको विरुद्धमा आजसपाले आयोजना गरेको शक्ति प्रदर्शन एवम् विरोध सभामा बोल्दै उनले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।

अहिलेको सरकारकै संरक्षण र मिलेमतोमा देशमा भ्रष्टाचार बढिरहेको अध्यक्ष साहले आरोप लगाए । उनले भने, ‘यो सरकारले आफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ । भ्रष्टाचारीलाई जोगाउने र बचाउने काम गरेको छ । यसले भ्रष्टाचारीलाई संरक्षणसमेत गरेको छ । म दाबीका साथ भन्छु यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन ।’ उनले प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रण गर्न पूरै असफल भएको दाबी छ । अध्यक्ष साहले भने, ‘विभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ ।

तर ती काण्डको बारेमा कहिल्यै छानबिन हुदैन । यो देशका ठुला काण्डको फाईल सरकारले लुकाएर राखेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन् । यी लुटेराहरुले देशलाई लुटेर कंगाल बनाइसके, राज्यको ढुकुटी लुटेका छन्, विदेशमा पैसा थुपारेका छन् । यिनीहरुबाट देश समृद्ध हुदैन् ।’

अहिलेको सरकारले नेपाली जनतामाथि विदेशी ऋणको भारी बोकाएको र राज्यको ढुकुटी लुटेर रित्याउने काम गरेको उनको भनाइ छ । उनले साहले वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारसमक्ष माग गरेका छन् । वीरगञ्जको इतिहास, गौरव र सम्मान फर्काउनको लागि आफ्नो दल शत्तिसालझैं खडा हुने पनि उनको उद्घोष छ ।

अहिलेका शासक वर्गले वीरगञ्जको गौरवलाई मेटाउन खोजेको उनको आरोप छ । तत्काल वीरगञ्जलाई मुलुकको आर्थिक राजधानी घोषणा नगरिए आजपाले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उनले चेतावनी बताए । अध्यक्ष साहले भने, ‘शासक वर्गले वीरगञ्जको इतिहास, गौरव अनि सम्मान मेटाउन खोजिरहेका छन् । ती अपराधि शासकहरुको लागि वीरगञ्ज त दुहुना गाईजस्तै भएको छ, यहाँबाट राजस्वमात्रै लिने तर वीरगञ्जको विकासमा कुनै योगदान गरेका छैनन् । हामी वीरगञ्जलाई जसरी पनि देशको आर्थिक राजधानी घोषणा गराएरै छोड्छौँ ।

प्रभु साह त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन तयार छ । मेरो पार्टी तयार छ ।’ अध्यक्ष साहले वीरगञ्जले मुलुकलाई बुझाएको राजश्वको अनूपातमा विकास नगरिए अब आफूहरुलाई सह्य नहुने चेतावनी दिए । सो कार्यक्रममा आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, नेताहरु राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, रन्जु साह, बबिता साह लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०१-१२ , समय : २१:५७:१० , ३ दिन अगाडि