रेडियो गौशाला , ४७७ पटक हेरिएको
राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान निर्वाचन प्रणाली बदल्नु पर्नेमा जोड दिएका छन् ।
जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ क्षेत्रीय समितिद्वारा सप्तरीको खडक नगरपालिका ६ स्थित विसनपुरमा शुक्रबार आयोजित “जनतासंग जसपा नेपाल “आधारभुत संगठन निर्माण अभियान अन्तर्गत अभिमुखिकाण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बर्तमान निर्वाचन प्रणाली खर्चिलो र भट्किलो बन्दा गरिव विपन्न समुदाय जनप्रतिनिधि हुनुबाट बन्चित हुनुपरेको बताए । उनले प्रत्येक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्नेमा जोड दिदै प्रधानमन्त्री र मुख्यमन्त्रीले विज्ञहरुबाट मन्त्रीमण्डल गठन गरि सरकार बनाउनु पर्ने बताए । निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई कानून बनाउने अधिकार मात्र दिएर मन्त्री मण्डलमा नराख्दा चुनावमा खर्च कम हुने, भ्रष्टाचार न्यूनीकरण हुने र विपन्न बर्गको समेत पहुँच हुने उनले तर्क गरे ।
अध्यक्ष यादवले निर्वाचनलाई पुर्ण समानुपातिक बनाउँदै स्थानीय तह निर्वाचन दलविहीन बनाउनु पर्नेमा जोड दिए ।
स्थानीय निर्वाचनलाई दलविहीन र पुर्ण समानुपातिक बनाउँदा चुनाव महंगो नहुने र गरिव, विपन्न समुदाय र बर्गको स्थानीय सरकारमा प्रतिनिधित्व हुने उनको भनाइ थियो ।
जनता समाजवादी पार्टीको आन्दोलन र संघर्षबाट थोरैभएपनि जनताले परिवर्तनको महुशुस गर्न पाएको जिकिर गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेको जसपा नेपाल अध्यक्ष यादवले जसपा नेपाल नेतृत्वको सरकारले २ नम्बरबाट पहिचानको आधारमा प्रदेशको नाम मधेस राखिएको उल्लेख गरे ।
जसपा नेपाल पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि दृढतापूर्वक अगाडि बढेको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्री यादवले सामाजिक न्याय र समानताको लागि शोषित पीडित र उपेक्षित समुदायलाई पार्टीमा संगठित हुन आग्रह गरे ।
उनले “जनतासंग जसपा नेपाल, संगठन निर्माण अभियान” जनतालाई पार्टीसंग जोड्ने अभियान भएकोले पार्टीको नीति, सिधाान्त र विचार स्पष्ट पारी जनतासंग भेटघाट गर्न कार्यकर्तालाई निर्देशन दिए ।
विकास र समृद्धिको बाधक भ्रष्टाचार भएको बताउँदै अध्यक्ष यादवले भ्रष्टाचार विरोधी अभियानमा कडाइकासाथ लाग्नुपर्नेमा जोड दिए । उनले भ्रष्टचारीलाई संरक्षण गर्न र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि उल्टाउन एमाले-काँग्रेस गठबन्धन सरकार गठन भएको आरोप लगाए ।
आन्दोलनका उपलब्धि रक्षा गर्न र थप अधिकार सुनिश्चितताको लागि संघर्षको विकल्प नरहेको बताउँदै उनले अहिलेको अभियान समेत आन्दोलनकै तयारीको रुपमा ७७ जिल्लाकै टोल-टोलमा संचालन गरिएको उल्लेख गरे ।
संघीयतासहितको बर्तमान शासन व्यवस्था जसपा नेपालकै कठोर संघर्षले स्थापना गर्न सफल भएको दावी गर्दै उनले अझैपनि आफुहरुले चाहेको जस्तो आफ्नै शासन प्रशासनसहित संघीयता आइनसकेको बताए ।
बर्तमान गठबन्धन सरकारबाटै संघीयतामा खतरा देखिएको भन्दै उनले संघीयको कारण देशमा भ्रष्टाचार बढेको, आर्थिक बोझ थपिएको भन्न्ने भ्रम त्यसैको उपज रहेको बताए ।
महिला, दलित, थारु, आदिबासी जनजाति, मुश्लिम समुदायले समानुपातिक निर्वाचनकै कारण आरक्षण पाउँदा थोरै संख्यामा भएपनि राज्यको निकायमा प्रतिनिधित्व गर्न पाएको चर्चा गर्दै अध्यक्ष यादवले गठबन्धन सरकारले आरक्षण हटाउनको लागि समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने षड्यन्त्र गरेकाले त्यस विरुद्ध शोषित पीडित, उपेक्षित र विभेद र अन्यायमा परेको जातिसमुदाय संगठित भएर प्रतिकार गर्नुको विकल्प नरहेको तर्क गरे ।
जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष अर्विन्द कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख )बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, केन्द्रीय सदस्य डा. बबी सिंह यादव, रसना यादव, सुरेन्द्र साह, मधेश प्रदेश कार्यकारिणी सदस्य दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, कार्यकारिणी सदस्य विनोद चौधरी, वडा अध्यक्ष हरि मण्डल खंगलगायतकाले समेत मन्तव्य व्यक्त गरे ।
जसपा नेपालका युवा नेता सुरेन्द्र यादवद्वारा संचालित कार्यक्रममा स्वागत खडक नगरपालिका अध्यक्ष इसराईल मियाले गरे ।
अभिमुखिकरण कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह, वडा तथा बुथ समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रकाशित मिति: २०२५-०१-१० , समय : २२:०९:३५ , २३ घन्टा अगाडि