मिडिया नभएको भए संघीयता, गणतन्त्र, लोकतन्त्र सम्भव थिएनः मधेश प्रदेश सञ्चारमन्त्री लेखी

रेडियो गौशाला , ११९१  पटक हेरिएको

सिरहा- मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मुलुकमा भएका हरेक परिवर्तनमा पत्रकारिताको पनि राजनीति जतिकै योगदान रहेको बताउनु भएको छ ।

आमसञ्चार प्राधिकरणद्वारा लहानमा आयोजित साइबर सुरक्षा र एआई सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

‘मुलुकमा जति पनि राजनीतिक परिवर्तनहरू भएका छन्, ती हरेकमा राजनीतिभन्दा पत्रकारिताको कम योगदान छैन, ‘मन्त्री लेखीले भन्नुभयो, ‘संघीयता, गणतन्त्र, लोकतन्त्र मिडियाको भूमिका नभएको भए सम्भव थिएन ।’ तर, अहिले पत्रकारिता जगतले भोगिरहेका समस्यालाई राज्यले गम्भीरतापूर्वक नलिनु दुःखद् रहेको उहाँको भनाइ छ ।

सञ्चार क्षेत्रलाई सबल बनाउन र सञ्चारकर्मीहरूको वृत्ति विकासका लागि राज्य गम्भीर हुन ढिला गर्न नहुने उहाँले बताउनुभयो । पत्रकारिताविनाको अहिलेको व्यवस्था नै अधुरो रहने उहाँको भनाइ छ ।

मन्त्री लेखीले आफ्नो मन्त्रालयले पत्रकारिता गरिरहेका र पत्रकारितामा लामो समय बिताएका पत्रकारका लागि विभिन्न योजनाहरू बनाइरहेको पनि बताउनुभयो ।

राजनीतिक आन्दोलनपश्चात् प्राप्त उपलब्धिहरू कार्यान्वयनमा आउन नसकेको भन्दै मिडियालाई प्राथमिकतासाथ उठाइदिन मन्त्री लेखीले आग्रह पनि गर्नुभएको छ । यस्तै, प्रदेश सरकारलाई अधिकारविहीन जस्तो बनाएर राखिएको भन्दै उहाँले केन्द्र सरकारप्रति गुनासो पनि पोख्नुभयो ।

प्रकाशित मिति: २०२४-१२-३१ , समय : १५:०४:५५ , ३ दिन अगाडि