जनकपुरको जीतले पुरै मधेशको शान बढायो : मन्त्री यादव

रेडियो गौशाला , १३५  पटक हेरिएको

जनकपुरधाम-  मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको जीतले जनकपुर मात्र होइन पुरै मधेशको शान बढाएको बताएका छन् ।

एनपीएल संस्करणको पहिलो ट्रफी जितेर इतिहास रच्न सफल भएका जनकपुर बोल्ट्सले पुरै मधेशलाई गौरवान्ति बनाएको भन्दै उनले यी जीतले पुरै मधेशको खेलाडीहरुको आत्मबल र हौसला बढाएको बताए ।

एनपीएल टुर्नामेंट हेरेर काठमाडौबाट फर्किएपछि शनिवार सांझ जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले भने जनकपुर बोल्टसको यो जीत पुरै मधेश र देशकै जीत हो । यसले प्रदेशका खेलाडीहरुलाई देश विदेशमा उत्कृष्ट प्रदर्शन गर्न सक्नेतर्फ उत्साहित बनाएको छ ।

जनकपुर बोल्टससँगै एनपीएलमा सहभागी खेलाडीहरुको प्रदर्शनले अन्तराष्ट्रियस्तरमा नेपालका खेलाडीहरु उत्कृष्ट प्रदर्शन सक्ने क्षमता समेत देखाएको छ बताउंदै क्रिकेट सहितका खेलहरुको विकास र प्रवद्र्धनसहित खेलाडीहरुको मनोबल बढाउन प्रदेश सरकारले हरप्रकारको सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि उनले जनाए ।

मन्त्री यादवले आगामी एनपीएलसम्म प्रदेशका खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्नेगरी तयार गर्ने आगामी एनपिएलको टुर्नामेंट जनकपुरधाममा होस भन्ने तयारी समेत प्रदेश सरकारले अघि बढाउने बताए । एनपिएलको फाइनल म्याच हेर्न उनीसँगै मधेश सरकारका मुख्यमन्त्री सतिश सिंह र भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव काठमाडौको किर्तिपुर मैदान पुगेका थिए ।

प्रकाशित मिति: २०२४-१२-२२ , समय : ०८:०९:३१ , ६ घन्टा अगाडि