रेडियो गौशाला , ६७९ पटक हेरिएको
राजविराज- सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ ।
सोमबार साझ पाँच बजे बुद्ध एयरले काठमाडौं-राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीले गुनासो गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयको पहलमा बुद्ध एयरले रात्रिकालीन उडान सुरु गरेको हो ।
विमानस्थलमा जडान भएका लाइटका साथै अन्य उपकरणहरुको परीक्षण गरी रात्रीकालीन उडान सञ्चालनमा ल्याइएको राजविराज विमानस्थल कार्यालयका प्रमुख ध्रुवराज श्रेष्ठले जानकारी दिए ।
यात्रुको चाप धेरै भएकोले उडान संख्या बढाउन गत असोज ५ मा सप्तरीको एक प्रतिनिधि मण्डलले मन्त्री पाण्डेसमक्ष आग्रह गरेको थियो ।
सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितका प्रतिनिधि मण्डलले मन्त्रीसँग भेटेर दैनिक दुई उडानको व्यवस्था मिलाउन आग्रह गरेको थियो । मन्त्री पााण्डेले बुद्ध एयरसँग कुरा गरेर सेवा विस्तारका लागि पहल गरिने प्रतिबद्धता जनाएका थिए ।
विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोलीले साँझ आएको विमानलाई स्वागत गरेका थिए ।
प्रकाशित मिति: २०२४-१२-१६ , समय : २१:१२:४१ , ६ दिन अगाडि