रंगेहात पक्राउ परेका प्रशासकीय अधिकृतसहित तीनजनालाई सफाइ

रेडियो गौशाला , १०९५  पटक हेरिएको

काठमाडौं –   घुससहित रंगेहात पक्राउ परेका धनुषाको शहिदनगर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनालाई अदालतले सफाइ दिएको छ ।

प्रशासकीय अधिकृत सावनकुमार चौधरी, इन्जिनियर रमेशकुमार चौधरी र घुस लेनदेनमा सघाउने गुरुदेव यादवले विशेष अदालतबाट सफाइ पाएका छन् । उनीहरूलाई आयोगको टोलीले एक लाख नगद र एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको थियो । दुई लाख ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा गत २० जेठमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

विद्यालयको बाउन्ड्री वाल बनाउँदा सोको भुक्तानीको क्रममा घुस लिएको अख्तियारको अभियोग थियो । घुसको चेक यादवसँग भेटिएपछि आयोगले उनलाई पनि प्रतिवादी बनाइएको थियो । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बिहीबार सफाइ दिने फैसला गरेको छ ।

प्रकाशित मिति: २०२४-१२-१४ , समय : १७:५४:४६ , ३ महिना अगाडि