रेडियो गौशाला , १४१० पटक हेरिएको
काठमाडौं- नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेस निकट प्रेस युनियनका उम्मेदवारको विद्रोही पक्षधरसँग नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सहितले चुनावी गठबन्धन गरेको छ ।
महासंघको चुनावमा कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले चुनावी गठबन्धन गरेका हुन् । कांग्रेस र एमालेको गठबन्धनबाट महासंघको अध्यक्षमा निर्मला शर्माको उम्मेदवारी परेको छ ।
यसमा असन्तुष्टि जनाउँदै प्रेस युनियनका रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । विष्टलाई माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सहयोग गर्ने गरी चुनावी गठबन्धन बनेको हो ।
प्रेस सेन्टरबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिएका थिए ।
गिरीको उम्मेदवारी फिर्ता गर्न लगाएर माओवादी सहितका विपक्षी दलहरूले कांग्रेसको बिद्रोहीसँग चुनावी गठबन्धन गरेको हो ।
यो गठबन्धनले पत्रकार सम्मेलन गर्दै गरेर आफूहरूको प्रतिवद्धता समेत सार्वजनिक गरेको छ ।
जसमा नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरण गर्ने उल्लेख छ ।
‘नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउने छौं’ प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यो गठबन्धनबाट अध्यक्षमा रमेश विष्ट, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, उपाध्यक्ष महिलामा गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभाष प्रसाद साह र महासचिवमा लेखनाथ न्यौपाने रहेका छन् ।
खुला सचिवमा उत्तरसिंह विष्ट, मधेसी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाती सचिवमा भिषण राई, एशोसियट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी रहेका छन् ।
खुला केन्द्रीय सदस्यमा केशव बहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्द लोप्चन र रामकुमार श्रेष्ठ उम्मेदवार छन् । महिला सदस्यमा आदीवासी, जनजातीतर्फ सरु राना, मधेसीतर्फ मिनाकुमारी यादव, खस आर्यतर्फ दिया चन्द रहेका छन् ।
दलित केन्द्रीय सदस्यतर्फ लक्ष्मण दर्नाल उम्मेदवार छन् । आदीवासी जनजातीतर्फ अर्जुन बहादुर तामाङ उम्मेदवार छन् ।
मधेसीतर्फबाट चन्द्रदेव कामती, महिलातर्फ ललिताकुमारी साह, अपांगतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अलि रहेका छन् ।
लेखा समिति संयोजकमा ध्रुव रावल र लेखा समिति सदस्यमा गणेश प्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेदवार छन् । प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट उम्मेदवार छन् ।
प्रकाशित मिति: २०२४-१२-०८ , समय : ०७:५८:३१ , २ हप्ता अगाडि