गढीमाई मन्दिरमा मन्त्रीहरुको ओइरो

रेडियो गौशाला , १९५४  पटक हेरिएको

बर्दिबास- प्रसिद्ध गढीमाई मेलामा संघीय सरकारका मन्त्रीहरुको ओइरो लागेको छ ।

गृहमन्त्री रमेश लेखकले बुधबार मन्दिरमा पूजापाठ गरे । उनले मेलाको सुरक्षा व्यवस्थाबारे अधिकारीहरुसित जानकारी लिएका थिए ।

सोमबार उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेको गढीमाई मेलामा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह मंगलबार आएका थिए ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्वमन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एनपी साउदलगायतका नेताहरुले पनि बुधबार मन्दिरमा पूजा गरे ।

हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला बली प्रदानका लागि ख्याति प्राप्त रहेको छ । मेला आयोजकका अनुसार आइतबार र सोमबार बली प्रदान गरिने कार्यक्रम निर्धारण गरिएको छ । पहिलो दिन राँगाको र दोस्रो दिन पशुपंक्षी एवं बोकाको बली दिइनेछ । एक महिनासम्म चल्ने मेलामा लाखौँ श्रद्धालुहरुको सहभागिता रहने छ ।

मेला भर्न आउने श्रद्धालुहरुको उल्लेख्य भीड हुन थालेको छ । मेलामा सर्वसाधारणको भीडलाई व्यवस्थित गर्न व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गढीमाई मेला क्षेत्रको सबै खेतहरु खाली गरिएको छ । मुख्य मन्दिर सम्म पुग्न श्रद्धालुहरुलाई निकै समय लाग्ने गरेको छ । पञ्चवर्षीय सीताराम विवाहमहोत्सव र गढीमाई मेला एकै पटक पर्ने भए पनि दुबै मेला आयोजकबीच समन्वयको अभाव देखिएको छ ।

जनकपुरधाममा आउने श्रद्धालुहरुलाई गढीमाई मेलासम्म जाने र गढीमाई मेला भर्न आउनेहरुलाई जनकपुरधाम सीताराम महोत्सवमा सहभागिताका लागि पठाउने समन्वय भए दुवै मेलामा जनसहभागिता झन् बढ्ने बताइन्छ । सीताराम विवाह महोत्सवको भन्दा गढीमाई मेलामा संघीय सरकारका मन्त्रीहरुको सहभागिता अत्यधिक रहेको छ ।

प्रकाशित मिति: २०२४-१२-०५ , समय : २०:०५:४४ , २ हप्ता अगाडि