रेडियो गौशाला , ३८७ पटक हेरिएको
जनकपुरधाम – मधेस प्रदेश सरकारले शुक्रबार र आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। शुक्रबार सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा र आइतबार गढीमाई मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको हो।
मंगलबार मधेस प्रदेश सरकारले सूचना जारी गर्दै प्रत्येक पाँच वर्षमा एक महिनासम्म लाग्ने गढीमाई मेलाको अवसरमा आइतबारदेखि गढीमाई देवी मन्दिरमा विशेष पूजा हुने भएकाले मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले जानकारी दिए।
यस्तै, विवाहपञ्चमीको अवसरमा मधेस प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर बिदा दिने निर्णय गरेको थियो।
यसैबीच विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्र र परिक्रमा सडकको दायाँबायाँ क्षेत्रभित्र मदिराको बिक्री वितरण एवं पशुपंक्षी मारकाट, माछामासु बिक्री वितरणमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै बुधबार विवाहपञ्चमीलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि बुधबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म परिक्रमा क्षेत्रमा मदिराको बिक्री वितरण एवं माछामासुको बिक्री वितरणमा रोक लगाइएको जनाएको छ।
प्रकाशित मिति: २०२४-१२-०४ , समय : १२:००:२७ , ३ हप्ता अगाडि