रेडियो गौशाला , ७८८ पटक हेरिएको
महोत्तरी – नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनले रामकुमार महतोको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय पदाधिकारी निर्विरोध निर्वाचित गरेको छ ।
गएको मंसिर १ देखि ३ गतेसम्म चलेको महाधिवेशनले राष्ट्रिय अध्यक्षमा महतोलाई निर्विरोध निर्वाचित गरेको हो । यस्तै, वरिष्ठ नेतामा सरिता गिरी, सह अध्यक्षमा कालीपद शर्मा, उपाध्यक्षत्रयमा रमेश प्रसाद सिंह, कामदेव झा र इन्दिरा पाल निर्वाचित भएका छन् । यस्तै महासचिवमा महोत्तरीका पवन कुमार साह निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल सद्भावना पार्टीले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर महाधिवेशनको निर्णयहरु सार्वजनिक गर्दै केन्द्रीय कोषाध्यक्षमा धनुषाका फुलप्रास देवीलाई निर्वाचित गरेको जनाएको छ ।
सह महासचिवत्रयमा सविता कुमारी, सुजय कुमार झा र त्रिभुवन कुमार महतो निर्वाचित भएका छन् ।
यस्तै महाधिवेशनबाट १९ सदस्यीय कार्यकारिणी समिति पनि निर्वाचित भएको छ ।
कार्यकारिणी सदस्यहरुमा अमर यादव, मंगल महतो, सुष्मा सहनी, रामनारायण मेहता, कामदेव झा, गणेशकुमार झा, सरस्वतीकुमारी झा, बालबोध झा, पवन कुमार साह, रामबाबु महतो कोइरी, बिनादेवी राय लगायतका छन् ।
यस्तै महाधिवेशनबाट २५ सदस्यीय केन्द्रीय कार्य समितिसमेत निर्वाचित भएको महासचिव पवन कुमार साहले बताए ।
महाधिवेशनले वरिष्ठ नेतामा डा. कृष्णचन्द्र साहलाई मनोनित गर्ने निर्णय गरेको छ भने महोत्तरीका रामचन्द्र महतोलाई सर्वमाननीय नेता मनोनित गरेको हो ।
रामनरेश साहसहित ६ जनालाई कार्यकारिणी समिति सदस्य समेत मनोनित गरिएको महासचिव साहले जानकारी दिए ।
महाधिवेशनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, स्थानीय तहमा दलविहीन निर्वाचन प्रणाली, प्रदेशहरुको संरचना हेरफेर गरी पहिचानसहितको अधिकारसहितको स्वायत्त प्रदेश स्थापना, संघीय गणतान्त्रिक हिन्दु राष्ट्रको पुर्नस्थापना लगायतको मागलाई अनुमोदन गरेर अघि बढ्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: २०२४-११-१९ , समय : १९:०५:४९ , १ महिना अगाडि