सप्तरी–२ मा यादवलाई राउत र ठाकुरको चुनौती

रेडियो गौशाला , ३५९१  पटक हेरिएको

जनकपुरधाम । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी– २ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् ।

यहाँबाट २ पार्टीका अध्यक्ष र १ केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको छ । डा. राउतले पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका हुन् । जसपा अध्यक्ष यादव र लोसपा केन्द्रीय सदस्य ठाकुरले भने यसअघि पनि उम्मेदवारी दिएका थिए ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट लोसपाका उम्मेदवार ठाकुर छन् भने विपक्षी गठबन्धन एमाले–जसपाबाट जसपाका अध्यक्ष यादव उम्मेदवार छन्। जनमत पार्टीका अध्यक्ष डा. राउत एक्लै चुनावी मैदानमा छन् । तीनै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यादव यसै क्षेत्रका निवर्तमान प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनले २०७४ सालको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली कांग्रेससमेतको समर्थनमा उम्मेदवारी दिएका थिए । उनी २१ हजार ६२० मत प्राप्त गरी विजयी भएका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेश यादवले ११ हजार ५८० मत प्राप्त गरेका थिए भने तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले ९ हजार ४५९ मत प्राप्त गरेका थिए। यस पटक परिस्थिति र गठबन्धन फेरिएको छ ।

२०७४ सालको निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादव अहिले फरक सत्ता गठबन्धनबाट क्षेत्र नं.– २ (ख)मा उम्मेदवार छन् । अर्का पुराना प्रतिस्पर्धी जयप्रकाश ठाकुर वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनी जसपा अध्यक्ष यादवसँग प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिई पराजित ठाकुर लोसपा प्रवेश गरेपछि सत्तारूढ गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् ।

जसपाले यसअघि कट्टर विरोधी मान्दै आएको एमालेसँग गठबन्धन गरेको छ । लोसपा सत्ता गठबन्धनसँग छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को साथ पाएकाले आफू झन बलियो भएको ठाकुरको भनाइ छ । राजविराज नगरपालिकासहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा २ वटा गाउँपालिकामा लोसपा र एउटा गाउँपालिकामा कांग्रेसले जित हात पारेको थियो ।

राजविराज नगरपालिकामा भने जसपाले जित हात पारेको थियो । गत स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार ३७५ र एमालेले ३ हजार ६९३ मत प्राप्त गरेका थिए । यस्तै, कांग्रेसले १३ हजार ३१५, लोसपाले १३ हजार ५४८, माओवादी केन्द्रले ७ हजार ७७६ र एकीकृत समाजावादीले ३ हजार २७१ मत ल्याएका थिए ।

हालै समपन्न स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार ८९२ पुग्छ । यस आधारमा आफ्नो जित सुनिश्चित रहेको सत्ता पक्षीय गठबन्धनका साझा उम्मेदवार ठाकुरको दाबी छ । जनमत पार्टीका अध्यक्ष डा. राउतको उम्मेदवारीले सत्ता गठबन्धन र विपक्षी गठबन्धनको धैरै मत तान्ने अनुमान गरिएको छ ।

बेरोजगार युवालाई स्वदेशमै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारलगायत विषयमा गरेको प्रतिबद्धताले जनताले यस पटक आफूलाई अवसर प्रदान गर्ने राउतको भनाइ छ । उनले भने, ‘जनताले पुराना नेतालाई होइन, मलाई सहयोग गर्नेमा विश्वस्त छु।’ जसपा अध्यक्ष यादव भने २०७४ सालको निर्वाचन जितेपछि आफूले यस क्षेत्रको विकासका लागि नि:स्वार्थ भई धेरै काम गरेकाले जनताले यस पटक पनि विजयी हुने विश्वास व्यक्त गर्छन् ।

कृषि विश्वविद्यालय, जीर्ण अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पालतमा सुधार, नर्सिङ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक सञ्जालको निर्माण र विस्तारलगायत संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले आउँदा ५ वर्षका लागि मौका दिने उनको भनाइ छ ।

जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा. राउत दुवैको घर यसै क्षेत्रअन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ। सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ । सप्तरी निर्वाचन क्षेत्र नं.– २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार ३५५ महिला तथा अन्य २ जना मतदाता छन् ।

प्रकाशित मिति: २०२२-११-०६ , समय : ०८:३६:५६ , २ वर्ष अगाडि