रेडियो गौशाला , ६२५४ पटक हेरिएको
जनकपुरधाम – मुस्लिम धर्मावलम्बीले आज बकर इद (इदुल जोहा) आज मनाउँदै छन् ।
बकर इद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता छ ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
मुस्लिम धर्मावलम्बीले आजदेखि बुधबारसम्म तीन दिन यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए ।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति: २०२४-०६-१७ , समय : ०९:१९:३८ , ६ महिना अगाडि