कोठाभाडा तिर्न नसक्दा गरे ५४ वर्षीय व्यक्तिले आत्माहतीय

रेडियो गौशाला , २७४१  पटक हेरिएको

काठमाण्डौ – काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षका कृष्ण नगरकोटीले आर्थिक अवस्था कमजोर भएका कारण कोठाभाडा समेत तिर्न नसक्दा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउनुहुन्थ्यो । ट्याक्सी चलाउँदा पनि आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो । उहाँले १५ वर्षदेखि टयाक्सी चलाउँदै आउनुभएको थियो । श्रीमतीले छोडेपछि नगरकोटी छोरा रिचेन र छोरी रश्मीसँग काठमाण्डौको रविभवन, गणेशथानमा कोठा भाडामा बस्दै आउनुभएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा आर्थिक अवस्थाकै कारण नगरकोटीले आत्महत्या गरेको खुलेको जानकारी दिनुभयो । नगरकोटीको हिजो विहान शव फेला परेको थियो । उहाँका छोरा रिचेन पनि घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

पछिल्लो तीन महिनायता कोठाभाडा तिर्न नसक्दा तीनै जनाले ट्याक्सीमा रात कटाउँदै आएका र रिचेन र रश्मीको मानसिक अवस्था पनि सामान्य नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीले सेतोपुल नजिकै रश्मीलाई ट्याक्सीभित्र बसिरहेको अवस्थामा फेला पारी उद्धार गरेको छ ।

प्रकाशित मिति: २०२४-०५-२२ , समय : ११:१५:३९ , ८ महिना अगाडि