सर्लाहीमा गहुँको भुसा बोकेको ट्याक्टर पल्टिदा, एक किशोरको मृत्यु, ४ घाइते

रेडियो गौशाला , १५७७  पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका–१५, हरपूर्वामा गएराति गहुँको भुसा बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

राति १० बजेपछि हरपूर्वामा खेतबाट गहुँको भुसा लोड गरेर पिप्राभित्तातर्फ आउँदै गरेको अनटेष्ट ट्याक्टर नहरको बाटोमा अनियन्त्रित भई पल्टिदा बरहथवा नगरपालिका–६, बस्ने १७ वर्षीय राजकुमार सिंहको मृत्यु भएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते उनलाई उपचारका लागि बरहथवास्थित एक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको बरहथवाका डिएसपी गौतम थापाले बताए ।

दुर्घटनामा ट्याक्टर चालक ४० वर्षीय रामअवतार सिंह राय, उनकी पत्नी ४२ वर्षीया शान्ति देवी, उनीहरुको अर्का छोरा १२ वर्षीय बब्लुकुमार सिंह र बरहथवा नगरपालिका ५ का ५० वर्षीय प्रमोद सिंह घाइते भएका छन् ।

घाइते चारै जनालाई बरहथवामा सामान्य उपचारपछि राति नै थप उपचारार्थ वीरगन्जतर्फ रेफर गरिएको डिएसपी थापाले जानकारी दिएका छन् ।ट्याक्टर घटनास्थलबाट उठाएर लौकठस्थित प्रहरी चौकी हीरापुरमा ल्याइ राखिएको छ । राति दुर्घटनापछि प्रहरी र स्थानीय घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए ।

घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २०२४-०४-२३ , समय : १४:५५:१८ , १२ महिना अगाडि