रेडियो गौशाला , ९७८३ पटक हेरिएको
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य उपेन्द्र महतोले यो सरकारलाई समर्थन दिने लायक कुनै काम नगरेको टिप्पणी गरेका छन्।
आइतबार बसेको प्रदेशसभा बैठकमा उनले सरकारलाई समर्थन लिनुभन्दा पहिला एउटा रिपोर्टकार्ड प्रस्तुत गर्नुपर्ने भन्दै भने, ‘५/६ वर्षदेखि सुन्दै छु, संघ सरकारबाट लडिरहेको छु प्रहरीका लागि। कर्मचारी समायोजनका लागि। त्यो त हामी पनि लडिरहेका छौँ। तपाईले के गर्नुभयो ? यसका लागि संघीयता ल्याइएको थिएन। संघीयता धेरै बलिदानीपछि आएको छ।’
उनले आफ्नो सरकार भए पनि अहिले आफ्नोपन नरहेको बताए। उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु । हामी केन्द्रमाथि आरोप लगाउँछौँ भेदभाव भयो, बजेट दिइएन । भेदभाव हुन्छ तर पाएको बजेट पनि खर्च हुँदैन।’
उनले सात वर्षदेखि जसपानै सरकारको नेतृत्व गरिरहेको तर कुनै उपलब्धि नभएको टिप्पणी गरे । उनले प्रदेश कसरी बढ्छ, समृद्ध हुन्छ त्यसमा नलागेर आफ्नै मन्त्रिपरिषद्का मन्त्रीलाई कुटनु ठीक नरहेको बताए।
‘पछिल्लो ५ वर्ष हाम्रो मुख्यमन्त्रीजीले एउटै कुरा गर्नुभयो एक संघीयता नयाँ हो अर्को कर्मचारी हामीलाई टेर्दैन् । पाँच वर्ष त्यसैमा गयो। यस पटक फेरि नयाँ मुख्यमन्त्री, मन्त्रीहरु छन्। फेरि उनीहरु सिकिरहेका छन्’, उनले अगाडि भने, ‘तपाईहरुले मधेस प्रदेशलाई प्रयोगशाला बनाएर राख्नुभएको छ ? तपाईहरु प्रयोगशालामा टेष्ट गर्दै जानुहुन्छ, मधेस मर्दै छ। यो तरिका भएन।’
लोसपा सांसद महतोले आशमा विश्वासको मत दिइरहेको कि सुध्रिन्छ तर नसुध्रिरहेको बताए। उनले व्यक्तिगत रुपले प्रदेशको कामकाजले सन्तुष्ट नरहेको भन्दै आश र सुध्रिने भरोसाका कारण लोसपाले विश्वासको मत दिने जानकारी दिए।
प्रकाशित मिति: २०२४-०२-१८ , समय : १९:२६:३३ , १० महिना अगाडि