मधेशमा अनौंठो बिबाह : जब बेहुलीले जन्ती लिएर बेहुलाको घर पुगे…

रेडियो गौशाला , २८२६१  पटक हेरिएको

दिवेशकुमार कुशवाहा, जनकपुरधाम । समान्य बुझाई अनुसार विवाहमा बेहुला पक्षले जन्ती लिएर जान्छ । बेहुली पक्षले जन्ती लिएर गएको कुरा धेरैलाई अप्तयारो लाग्न सक्छ । तर धनुषाको वटेश्वर गाँउपालिका वार्ड नं २ धुमाशनका २२ वर्षिय आदर्श कुमार महतोको विवाहमा बेहुलीले नै जन्ती लिएर आएको थियो । बेहुली प्रिया झा परिवारसहित बेहुलाको घर जन्तीसहित पुगेर हिन्दु परम्परा अनुसार वैवाहिक बन्धनमा बाँधिन् ।

हिन्दु परम्परा अनुसार आँप (आम) विवाह गर्नुपर्ने परम्परा छ । सोही विधि गर्न बेहुला पक्षले रथमा बाजा गाँजा सहित आम विवाह गर्न पुग्यो । ब्रह्मथान कुल देवतालाई सम्झि, स्थानीयलाई साक्षी राखेर उक्त विधि सम्पन्न भयो ।

पुजा गरेर बेहुलासहितको टोली घर फर्किने क्रममा एक्कासी बेहुलीको गाडि त्यहि थान नजिकै आइपुग्यो । चाखलाग्दो कुरा के छ भने त्यो विवाहमा दुलही पक्षले जन्ती ल्याए झै दुई वटा स्कारपियो सहित बेहुला को घर पुगेको थियो । त्यसपछि जे भयो त्यो दृश्य आफैले हेर्दा र सम्झिदा अनौंठो लाग्यो मलाई ।

बाजा गाजा सहित अघि अघि बेहुला सवार भएको रथ, पछि पछि बेहुली सवार भएको स्कारपियो बेहुलाको घर पुग्यो । बेहुलाको घर आगाडि पन्डाल र आँगनमा आकर्षक होमाइद (होम) बनाइएको थियो । जबकि केटी पक्षले आफ्नो घरमा होमाइद बनाउनु पर्ने ठाउँमा केटा पक्षले सो कार्य गरेको रहेछ ।

केटी पक्षबाट आएकाहरुले वैवाहिक गतिविधिलाई निरन्तरता दिदैँ सोम्बर कार्य आगाडि बढायो । बिहे हेर्न आएकोहरु मध्ये महिलाको संङख्या अधिक थियो । सोयम्बर स्थानीयहरु उत्साहको रुपमा हेरिरहेको थियो ।

‘जिवनमा करिव पाच सय जोडीको विवाह गराईसकेको छु । तर आदर्श र प्रियाको विवाह भने अरु भन्दा धेरै फरक थियो,‘पण्डित बेचन महतोले भने,‘मैले यसअघि पनि प्रेम विवाह गराएको छु । तर यी दुवैको विवाह भने मेरो लागि मात्र नयाँ पात्र नभएर समग्र वटेशवर गाउँपालिकाकै लागि नयाँ रोचक थियो ।’

उनका अनुसार बेहुलाको आँगनमा होमाइद (होम) मा अग्निको परिक्रमा गरी विवाह समापन भयो । समाजको रितिरिवाज र हिन्दु परम्परा अनुसार नै अन्तरजातीय विवाह भयो । वर्तमान समयमा यो साकारात्म सन्देश हो । यसमा बेहुला र बेहुलीसँगै दुबैको परिवार पनि खुशी थिएँ ।

आदर्शले प्रेम विवाहमा कुनै पनि प्रकारको दाइजो नलिएको दावी गर्छन् । कुनै लेनदेन नभएको र दुबै पक्षको खर्च आर्दशले नै व्यवस्था गरेको बेहुली प्रिया बताउँछिन् । ‘समाजमा विधमान रहेको दाईजो प्रथालाई तोड्दै समाजमा सकरात्मक सन्देश दियो,’प्रियाले भनिन् ।

मधेसमा मधेसी झा बाह्रमण थर जातिलाई माथिल्लो वर्ग मानिएको हो । महतो कोइरी कुशवाहा जातिलाई निम्न मध्यम वर्ग मानिएको हो । तर, पनि अन्तरजातिय विवाह र दाइजो मुक्त विवाहलाई बेहुला पक्षले स्वीकार गर्याे । परिवार, जातपात, कुलघरान भन्दा स्वयंंम व्यक्तिको इच्छा चाहनाको आधारमा आफुखुसी विवाह भयो । जात मेल नखाएको अवस्थामा पनि यी दुवै जोडीले विवाह गरेर जात भन्दा पनि मन ठुलो हुन्छ भन्ने कुरा दर्शाएको छ । कानुनी रुपमा विवाह गर्ने उमेर पुगेको, दाइजो प्रथा मुक्त र जातभन्दा पनि मनलाई मानेर गरिएको विवाह वटेशवर गाउँपालिका क्षेत्र वरिपरी का लागि भने अनौठो र नयाँ विषय बन्यो ।

‘गाउलेहरुले भोज खाए । तर समाजले अन्तरजातीय विवाह गरेको भन्दै गाउँलेले दण्ड तिर्न लगाए,’बेहुला आर्दशले भने,‘दण्ड स्वरुप भोज गर्ने ‘कडाही’ किन्न लगायों ।’

स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्मलाई विवाह वा बिहे भनिएको हो । विवाह धेरै प्रकारका छन् । पितृसत्तात्मक वंशीय पद्धतिमा जो कोहीबीच जे जसरी विवाह भए पनि वैधानिकता दिने मनुस्मृति मा नै व्याख्या गरिएको छ । त्यसबेलाको परम्परा अनुसार, अनुलोम कथित माथिल्लो वर्ण (जातिका पुरुषले कथित तल्ला वर्ग (जातिका स्त्रीसँग विवाह गर्न पाउने र प्रतिलोम कथित तल्ला वर्ण(जातिका पुरुषले कथित माथिल्ला वर्ण(जातिका स्त्रीसँग विवाह गर्न सक्ने लाई सर्तसहित वैधता प्रदान गरियो। पुरुषले स्त्रीको इच्छाविपरीत पनि विवाह गर्ने उसबेलाको समाजमा विवाहलाई ब्रह्म, दैव, आर्ष, प्रजापत्य, आसुर, गान्धर्व, राक्षस र पिशाच भनेर आठ प्रकारमा वर्गीकरण गरिएको छ ।

माथि व्याख्या गरिएको विवाह भने गान्धर्व विवाह हो। केटाकेटीले प्रेम गरेर गरेको बिवाहलाई गान्धर्व विवाह भनिन्छ । हाम्रो देशको कानुन अनुसार मुलुकी देवानी संहिता २०७४ अनुसार,कुनै पुरुष र महिलाले कुनै उत्सव , समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्विकार गरेको अवस्था वा विवाह , पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारीक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी ,अनित्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन हो । सोही अनुसार हाल प्रचलनमा रहेको विवाहका प्रकारहरू मध्ये मागि विवाह,प्रेम विवाह,अदालती बिवाह,हक लाग्ने विवाह,जुहारी बिवाह,चोरी बिवाह गरी छुट्याइएको हो । उनीहरुले गरेको प्रेम‌ विवाह मात्र प्रेम सम्बन्ध मा सिमित रहेन । दाइजो प्रथालाई बेवास्ता गर्दै अन्तरजातिय विवाह गरेर समाजमा सकरात्मक सन्देश स्थापना गर्न अहम भूमिका खेल्यो ।

प्रकाशित मिति: २०२३-१२-२७ , समय : ०८:१०:४५ , १ वर्ष अगाडि