चोकमा राँगाको प्रतिमा राखिएपछि वीरगञ्ज महानगरको विरोध

रेडियो गौशाला , २५२०  पटक हेरिएको

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले परवानीपुरमा राँगाको प्रतिमा राखेपछि अहिले त्यसको विरोध भइरहेको छ। सामाजिक सञ्जालदेखि लिएर विभिन्न राजनीतिक दलका नेता सामाजिक कार्यकर्ताले पनि पहिले हनुमान मन्दिर रहेको स्थानमा राँगाको प्रतिमा राखिएको भन्दै विरोध गरिरहेका छन्।

उक्त स्थानमा राँगाको नभई हनुमानजीको मूर्ति वा अन्य प्रतिमा राख्नुपर्ने स्थानीयवासी पनि बताइरहेका छन्। वीरगञ्ज महानगरपालिकाले मुख्य चोकमै मुर्रा राँगाको प्रतिमा राखेपछि त्यसको विरोध भएको छ।

वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकमा महानगरले राँगाको प्रतिमा राखेको छ। राष्ट्रिय राजमार्गको वीरगञ्ज पथलैया सडकखण्डअन्तर्गत पर्ने परवानीपुर चोकमा राँगाको प्रतिमा राखिएको भन्दै राजनितिक दलहरुले बिरोध गरिरहेका छन्।

उक्त स्थानमा धेरै पहिलेदेखि हनुमान मन्दिर रहेको तर राजमार्ग विस्तारको क्रममा त्यहाँबाट मन्दिर अन्यत्र सारिएपछि अहिले त्यहाँ राँगाको प्रतिमा राख्नु गलत भएको स्थानीयवासीसमेत बताउँछन्।

राँगाको प्रतिमा राखेपछि वर्षांैदेखि हनुमान मन्दिर चोकले परिचित नाम ओझेलमा पर्ने भएको राँगाको प्रतिमा हटाउनुपर्ने स्थानीय एवं राप्रपाका युवा नेता अनिलकुमार कुशवाहाले बताए।

महानगरपालिकाले परवानीपुर मुख्य चोकमै राँगाको प्रतिमा राखिनु धर्मअनुसारले पनि नमिल्ने भएको राजनीतिक दलका नेता बताउँछन्।

उक्त स्थानमा हनुमानको सानो मन्दिर वा अन्य कुनै प्रतिमा राख्नुपर्ने अन्थया आन्दोलन र विरोध जारी रहने जनमत पार्टीका युवा नेता राजुराज गिरीको भनाइ छ।

राँगाको प्रतिमा राखिएको स्थानमा जनमत पार्टीले विरोध पनि गरेको बताउँदै उनले प्रतिमा यथाशीघ्र हटाउन माग गरे।

हनुमान मन्दिरको नामले परिचित रहँदै आएको परवानीपुरमा महानगरले राँगाको प्रतिमा कुनै धर्म वा आस्थालाई ठेस पुर् याउन नभई महानगरमा आउने अन्य स्थानका पर्यटकलाई लोभ्याउनको लागि राखिएको महानगरको भनाइ छ। राँगाको प्रतिमा राखिएको वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारले अहिले सर्वत्र विरोध भएपछि आफूले महानगरमा कुरा गरेको तथा चाँडै राँगाको प्रतिमा हटाएर अन्य प्रतिमा राखिने जानकारी दिए।

उनले वडासित समन्वय नै नगरी राँगाको प्रतिमा राखिएको तथा आफूसित समन्वय गरेको भए अहिले यस्तो अवस्था नआउने बताए।

‘राँगा हो कि साँढे हो दुबै जस्तो देखिन्छ राति ल्याएर प्रतिमा राखियो मलाई पूर्वजानकारी दिइएन, पछि विरोध हुन थाल्यो,’ उनले भने, ‘मैले महानगरका मेयरसित कुरा गरिसकेको छु, राँगाको प्रतिमा हटाउनेबारे हाम्रो कुरा भइसक्यो।’

महानगरले पनि कसैको आस्थामाथि ठेस पुर् याउन नभई पर्यटकलाई हेराउनकै लागि चोकमा प्रतिमा राखेको वडाध्यक्ष रौनियारको भनाइ वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा हनुमान मन्दिर चोकले परिचित स्थानमा महानगरले एकाएक राँगाको प्रतिमा राखेपछि धार्मिक र राजनीतिक दलका अगुवा एवं स्थानीयवासीले पनि विरोध गरिरहेका छन्।

प्रकाशित मिति: २०२३-१२-०८ , समय : २०:०२:१७ , १ वर्ष अगाडि