रेडियो गौशाला , १६३० पटक हेरिएको
महोत्तरी । दीपावली र छठ पर्वको मुखमा उखुको अनुदान रकम पाउँदा किसानलाई राहत मिलेको छ । यसै उसै दसैँ टार्नुपरेको आफूहरुका लागि दीपावली र छठअघि अनुदान रकम पाउँदा के केन पाएजस्तो भएको किसानले बताएका हुन् ।
जिल्लास्थित एभरेष्ट र सिद्धिविनायक चिनी उद्योगमा उखु बुझाएका महोत्तरीका किसानले अहिले उखु खेतीबापतको सरकारी अनुदान रकम पाएका हुन् ।’दसैँ कसैगरी टारियो, अब दिवाली र छठ मुखमा छन् के गर्ने होलाभन्ने चिन्ता थियो, पैसा आयो’, चाडबाडको मुखमा उखुको अनुदानबापतको रकम पाएपछि राहत मिलेको छ,’ भङ्गाहा–४ का किसान अरुण गिरीले भने, ‘मौकामा राहत मिल्यो, अब दिवाली÷छठ टारिन्छ ।’ गिरीजस्तै अन्य किसान पनि चाडवाड कसरी टारौँ भनेर बिलखबन्द परेका बेला अनुदान रकम पाइएको भन्दै खुसी व्यक्त गरेका छन् ।
दुवै उद्योगमा उखु बुझाउने जिल्लाका १२ हजार छ सय ७३ किसानलाई अनुदानबापतको जम्मा रु १८ करोड ४७ लाख ९९ हजारबाट सम्बद्ध किसानले पाउने हिस्सा निजहरुको बैंक खातामा पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० को क्रसिङका बेलामा उखु बुझाएका किसानलाई सरकारले अहिले अनुदानबापतको रकम उपलब्ध गराएको हो ।
किसानले उखु बुझाएको झण्डै एक वर्षपछि अनुदानबापतको रकम अहिले पाइएको छ । गत वर्ष भने किसानले दसैँ अघि अनुदान रकम पाएका थिए । यसपालि सरकारले निकासा पठाउन ढिलो गर्दा किसानको खातामा रकम पुग्न ढिलो भएको उक्त कार्यालयले स्पष्ट पारेको छ ।
उखु क्रसिङ गर्ने बेलामा आव २०७९÷८० मा एभरेस्ट चिनी उद्योगलाई १२ हजार पाँच सय ९० र सिद्धिविनायक चिनी उद्योगलाई ८३ जना किसानले उखु उपलब्ध गराएका थिए । सिद्धिविनायक गत वर्षमात्र सञ्चालनमा आएको चिनी उद्योग हो ।
सरकारले २०७८÷२०७९ देखि उखु खेती गर्ने किसानलाई प्रतिक्विन्टल रु पाँच बढाएर अनुदान रु ७० पुर्याएको थियो । अहिले उखुको मूल्य उद्योगले पाँच सय ४० र सरकारले अनुदानबापत ७० गरी प्रतिक्विण्टल छ सय १० कायम गरेको छ ।
यता किसानले भने चिनीको मूल्य बढ्दै गएको अनुपातमा उखुको न्यूनतम मूल्य रु सात सय ५० कायम गर्नुपर्ने माग उखु उत्पादक कृषक सङ्घमार्फत राख्दै आएका थिए ।
एभरेष्टले आव २०७९÷०८०मा २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ४२ हजार तीन क्विन्टल चिनी उत्पादन गरेको थियो । यो चिनी उत्पादन २०७८÷०७९को भन्दा ६१ हजार आठ सय ४४ क्विन्टल बढी हो ।
सञ्चालनको पहिलो वर्ष (२०७८÷०७९) मा ५१ हजार चार सय ७२ क्विन्टल उखु क्रसिङ गरी छ हजार क्विन्टल चिनी उत्पादन गरेको सिद्धिविनायकले पछिल्लो पटक गत आबमा भने नौ हजार दुई सय ४५ क्विन्टलमात्र उखु क्रसिङ गर्न सकेको थियो ।
प्रकाशित मिति: २०२३-११-०४ , समय : १०:५९:५१ , १ वर्ष अगाडि