आपराधिक र अनैतिक गतिविधिको सूचना दिनुस् : सीडीओ धमला

रेडियो गौशाला , १२११  पटक हेरिएको

मलंगवा – सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जिल्लाका संचारकर्मीलाई आपराधिक र अनैतिक गतिविधिको स्थानीय प्रशासनलाई सूचना दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको संचारकर्मीसँगको परिचयात्मक कार्यक्रममा भर्खरै सरुवा भई आएका सीडीओ धमलाले लागूऔषधको सेवन तथा ओसारपसार, तस्करी, आपराधिक घटना र अनैतिक गतिविधि रोक्ने किसिमले कलम चलाउन र त्यसबारे सूचना पनि दिइराख्न आग्रह गरेका हुन् । कमी, कमजोरी र समस्याहरु उजागर हुने गरी पत्रकारिता गरिदिए आफूहरलाई काम गर्न सहज हुने प्रजिअ धमलाको अपेक्षा छ ।

जिल्लामा भर्खरै सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले पनि समाजमा शान्ति र अमनचयन गर्ने कार्यमा सहयोगी भूमिका निर्वाह गरिदिन पत्रकारसँग आग्रह गरे । सीडीओ धमला र एसपी धिताल दुवै जनाले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने कुरामा गम्भीरताका साथ लागिपर्ने उल्लेख गरेका छन् ।

संचारकर्मीसँगको परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, भैरवी दल गण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-१०-१९ , समय : २१:०३:३६ , २ वर्ष अगाडि