बर्दिबास अस्पतालमा पोष्टमार्टम सेवा शुरु

रेडियो गौशाला , ११६२७  पटक हेरिएको

रवीन्द्र उप्रेती/बर्दिबास । बर्दिबास नगरपालिकाको लामो प्रयासपछि बर्दिबास अस्पतालमा शव परीक्षण (पोष्टमार्टम) सेवा सुरु भएको छ । सवारी दुर्घटनामा मृत्यु भएको बर्दिबास–३ गौरीडाँडाका ५२ वर्षीय काजी कार्कीको पहिलो शव परीक्षण गरी बुधवारदेखि यो सेवा सुरु भएको हो ।

बर्दिबासमा पोष्टमार्टम सेवा सुरु भएपछि महोत्तरीको उत्तरी भेगका गौशाला, औरही, भंगाहा सीतापुर, सोनमा, समसी र धनुषा जिल्लाको मिथिला नगरपालिकासहित सात स्थानीय तहका नागरिक लाभान्वित हुने विश्वास गरिएको छ ।

यसअघि शव परीक्षण सेवा महोत्तरी सदरमुकाम जलेश्वर अस्पतालमा मात्र थियो । जसका कारण पोष्टमार्टमकै लागि ७० किमी टाढा रहेको जलेश्वर जानु पर्ने बाध्यताले मृतकका शोकाकुल परिवार थप झन्झट र समस्या बेहोर्नु परेको थियो ।

शव परीक्षण सेवा शुभारम्भ कार्यक्रमलाई अस्पताल परिसरमा बुधवार सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले बर्दिबास अस्पतालमा पोष्टमार्टम सेवा थपिएपछि अव शव बोकेर जलेश्वर र जनकपुर जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

उहाँले जिल्लामा सदरमुकाम बाहिरका अस्पतालमा पहिलो पटक सुरु भएको यो सेवाले जनतालाई सुविधा प्रदान गर्नुका साथै मानवता र मानवीय संवेदनाको समेत सम्मान भएको बताउनुभयो ।

‘शव परीक्षण सेवालाई सहज र सुरक्षित बनाउन अस्पताल परिसरमा प्रहरी क्वार्टर निर्माणका साथै विधुत अनियमितता निराकरणका लागि छुट्टै ट्रान्सफर्मर राख्ने पहल पनि भइरहेको छ’ नगरप्रमुख क्षेत्रीले भन्नुभयो ।

बर्दिबास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण फूयालका अनुसार झण्डै वर्ष दिन लामो प्रयासपछि यो सेवा सुरु गरिएको बताउनुभयो ।

उहाँकाअनुसार पोष्टमार्टमका लागि पूर्वाधार संरचना तयार गर्न समितिले १० लाखभन्दा बढी रुपियाँ खर्च गरेको छ । नेपाल सरकारले क्लिनिकल मेडिकल लिगल परीक्षण सेवा सञ्चालनका लागि अनुमति प्रदान गरेपछि बर्दिबास अस्पतालमा पोष्टमार्टम सेवा सुरु गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले बताउनुभयो ।

बर्दिबास अस्पतालका डा अशोककुमार साह तथा डा विवेक दासले पहिलो पोष्टमार्टम गरेपछि अस्पताल प्रशासनले औपचारिक रूपमा यो सेवा सुचारु भएको जानकारी गराएको थियो ।

प्रकाशित मिति: २०२३-१०-०५ , समय : ०५:३९:२१ , १ वर्ष अगाडि