एमालेको घोषणा पत्र सार्वजनिक : पाँच वर्षमा पुरा हुनेगरी २० ग्यारेन्टी ।।

रेडियो गौशाला , १०३१  पटक हेरिएको

नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आज काठमाडौंको एक होटलमा कार्यक्रमको आयोजना गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्नुभएको हो । झन्डै २० हजार शब्द रहेको घोषणा पत्रमा ५ वर्षमा २० ग्यारेन्टी दिइएको छ । ग्यारेन्टीमा स्वस्थ महिनावारी: १५ सय वर्षभरि, महिलाहरूलाई स्यानिटरी प्याड खरिदका लागि वर्षमा १५ सय रूपैयाँ, देशको अर्थतन्त्र पाँच वर्षभित्रमा एक सय खर्बको बनाउने उल्लेख छ । १० हजार लिटर पानी नि:शुल्क दिने, ५० युनिटसम्म बिजुली नि:शुल्क, ५ लाखलाई रोजगारी दिने र न्यूनतम तलब मासिक २५ हजार दिने एमालेको घोषणा पत्रमा उल्लेख छ। यस्तै स्वदेशी उत्पादनलाई विदेशमा निर्यात गर्ने, भोकमरी अन्त्य गर्ने, नेपालीलाई मात्र नागरिकता दिने र समृद्धि अधिवेशन गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ।मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिँदै सार्वजनिक गरिएको घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सु:खी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ।यस्तै, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवाको नीति कार्यान्वयन गर्ने, ‘निरोगी नेपाल, सबल नागरिक नीति अघि बढाउने, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क दिने घोषणा पनि एमालेले गरेको छ । वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क गर्ने, ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनीको मान्यता अघि बढाउने,सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, ‘व्यवस्थित सहर:स्वच्छ र हरियाली बस्तीको अवधारणा कार्यान्वयन गर्ने, सरल, सहज सार्वजनिक सेवाको प्रबन्ध गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने, ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, ‘सभ्य समाज:मर्यादित नागरिकको नीति कार्यान्वयन गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने घोषणा पनि आयोगले गरेको छ । घोषणा पत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष कुराकानी पनि गरिएको थियो ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : १७:४७:०१ , २ वर्ष अगाडि